सिन्धुलीको सुनकोसी गाउँपालिका–५ बन्दिपुरका २२ वर्षीय आसमान तामाङको ०८२ पुस १४ गते घ्याङ्लेख गाउँपालिका–१ पिउरीखोला जङ्गलमा गोली लागेको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले मृतकको हत्या भएको हो वा आफैँ बन्दुक पड्किएर गोली लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।
स्थानीयले ०८२ पुस १४ गते राति प्रहरीलाई सूचना गरेपछि सोहि राति प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय बस्तीपुर र इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको टोली घटनास्थल पुगेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा तामाङको पेटको भागमा गोली लागेको र शव नजिकै एक थान भरुवा बन्दुक बिच भागमा भाँचिएको अवस्थामा फेला परेको छ । साथै मृतकले भिरेको झोलाभित्र बारुद जस्तो देखिने धुलोका साथै फलाम र सिसाका टुक्रा समेत भेटिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार शवको मुचुल्का उठाई ०८२ पुस १६ गते जिल्ला अस्पताल सिन्धुलीमा पोष्टमार्टम भएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।