१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका–४ आश्राङका २३ वर्षीय दिपेन्द्र लोलार्ई जिल्ला अदालतले आठ वर्ष कैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले लोलाई दोषी ठहर गरेको फैसला माघ १५ गते लिखित प्रतिवेदन उतारेको हो । पीडित बालिकालाई लोले गत जेठ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ११ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा जेठ ११ गते नै गरिएको थियो ।
न्यायाधीश डा. रिजालको इजलासले उक्त मुद्दाको विस्तृत पैmसला लेख्दै मुलुकी ऐन जबरजस्ती करणी महल बमोजिम आठ वर्ष कैद सजाय तोकेको हो ।
अदालतले गरेको फैसलामा बागमती गाउँपालिका–४ आश्राङ, स्याउलेका लो र बालिकाबीच प्रेम सम्बन्ध रहेको र दुवैको सहमतिमा जेठ ५ गते यौन सम्पर्क गरेको भएपनि १४ वर्ष मुनिकी बालिकासँगको यौन सम्पर्क भएकाले उक्त सजाय ठहर हुने भन्दै कैद सजाय तोकेको उल्लेख छ ।
फैसलाको निचोडमा दुवै जना दुर्गम गाउँमा बस्ने र कानुनी ज्ञानको अभावका कारणले घटना घटेको हुन सक्ने भएपनि फौजदारी न्यायको क्षेत्रमा कानुनको अनभिज्ञता क्षम्य नहुने सिद्धान्त छ भनिएको छ ।
अदालतले नयाँ कानुन निर्माण गर्दा सर्वसाधारणलाई जानकारी हुने गरी प्रचार प्रसार गर्न र प्रचलित कानुनी ज्ञान एवम् शिक्षालाई प्रभावकारीरूपमा ग्रामीण तहसम्म पुर्याउन सरकारलाई रायसमेत दिएको छ ।
कानुनको पुस्तक एवम् सामग्री प्रभावकारी रूपमा विक्री वितरण र खरिद गर्न नसक्नेलाई निःशुल्क उपलब्ध गराउन सङ्घीय सरकार, सङ्घीय संसद, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, सबै प्रदेश सरकार, प्रदेश संसद, स्थानीय सरकारसमेतलाई राय दिइएको छ ।
जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार विकसित मुलुकमा कानुनको तर्जुमा गर्दा जनस्तरमा छलफल र प्रचार प्रसार व्यापाक हुन्छ ।