गुल्मीका १ सय ४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील रहेका छन् । ती मध्ये ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनु भयो । जिल्लाको सुरक्षा योजना सहित सबै मतदान स्थलहरुको अनुगमन सकेर सुरक्षाको दृष्टिबाट बर्गीकरण गरिएको गैह्रेले बताउनु भयो ।
उहाँले निर्वाचन स्थलहरुमा मतदानको दिनलाई आवश्यक पर्ने भौतिक अवस्था, खानेपानी, विद्युत, शौचालय र घेराबारहरूको अवस्थाबारे पनि सूक्ष्म रुपले अध्ययन गरेर मर्मत सम्भारका लागि स्थानीय तहहरुलाई आग्रह गरिएको बताउनु भयो । मतदान स्थलको अवस्थाका आधारमा आवश्यक सुरक्षा प्रबन्ध गर्ने, स्थानीय राजनीतिक दल, जनप्रतिनिधिसँग पनि छलफल गर्दै निर्वाचनको वातावरण निर्माण गर्दै आएको उहाँले बताउनु भयो ।
निर्वाचन आयोगले गुल्मीमा तीन मतदान स्थल थप गरेको छ । आगामी निर्वाचनमा मतदाताहरुको सहजताका लागि तीन मतदान स्थल थप गर्ने निर्णय भएको हो । जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले मतदान स्थलको अनुगमन गरिसकेपछि दल र सरोकारवालाको सुझावसहित सिफारिस पठाइएको थियो ।
गुल्मीदरबार गाउँपालिकामा एक, सत्यवतिमा एक र मुसिकोट नगरपालिकामा एक वटा मतदान स्थल थप गर्न तथा मुसिकोट नगपालिका–४ मा एउटा मतदान स्थल सार्ने निर्णय निर्वाचन आयोगबाट मान्यता प्राप्त भएको निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।
अब सत्यवति गाउँपालिका–६ को वडा कार्यालय भवनमा नयाँ मतदान स्थल कायम भएको छ । गुल्मीदरबार गाउँपालिका–१ को बलिथुम नरहरि कँडेल माविमा र मुसिकोट नगरपालिका–१ को वडा सेवा केन्द्र भवन सिम्ले नयाँ मतदान स्थलको रुपमा कायम भएको निर्वाचन अधिकृत घिमिरेले बताउनु भयो । त्यस्तै मुसिकोट नगरपालिका–४ मुसिकोट मावि हलोगाडेबाट जनता आधारभूत विद्यालय आरुपाटामा ५ सय १६ जना मतदाता सार्ने निर्णय भएको छ । गुल्मीमा १ सय ४५ निर्वाचन स्थल र २ सय ७९ मतदान केन्द्र भएका छन् ।
गुल्मीमा १ हजार १ सय ७४ महिला र १ हजार ६ सय ४९ पुरुष गरेर २ हजार ८ सय २३ नयाँ मतदाता थपिएका छन् । २ हजार ७ सय ७२ जना जिल्लाभित्रका र ७१ जना बाहिरका रहेका छन् । गुल्मीमा दुई निर्वाचन क्षेत्र रहेका छन् ।