INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकांश शिक्षक र विद्यार्थी बिरामी, विद्यालय तीन दिन बन्द

शिक्षक र विद्यार्थीहरुमा रुघाखोकी र घाँटी दुख्ने समस्या देखिएपछि मेलुङ गाउँपालिका–६ स्थित त्रिभुवन माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिरामी भएपछि ०८२ मंसिर २८ गतेदेखि पुस १ गतेसम्म विद्यालय वन्द गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु, शिक्षकहरु र अभिभावकहरुमा समेत जरो, रुघाखोकी र घाँटी दुख्ने समस्या देखापरेपछि मेलुङ गाउँपालिकाको समन्वय र चिकित्सक सहितको स्वास्थ्य टोलीबाट विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्य गरिएको थियो । परीक्षणबाट एक प्रकारको सरुवा रोग भएको र छिटो फैलने लक्षण देखिएकाले थप सुरक्षित रहन कम्तिमा तीन दिन विद्यालय बन्द गर्नु पर्ने सुझाव प्राप्त भएपछि विद्यालय बन्द गरिएको हो ।

गत मंसिर २४ गतेबाट विद्यालयका अधिकांश विद्यार्थीहरु, शिक्षकहरु र अभिभावकहरुमा समेत जरो, रुघाखोकी र घाँटी दुख्ने समस्या देखा परेको थियो । विरामी विद्यार्थी मध्ये एक जना चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार गराएर घर फर्किएका छन् भने अन्य विद्यार्थीहरु होम आइसुलेसनमा रहेको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताउनु भयो । प्रधानाध्यापक श्रेष्ठका अनुसार हाल विद्यालयमा ३ सय २५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

उद्धव पोखरेल

अन्य

भिडियो