१३ वर्षीया बालिकालाई प्रलोभनमा पारी शिक्षक पदमा कार्यरत सर्लाही, हरिवन नगरपालिका–९ का २३ वर्षीय अरूणकुमार महतोले ०८१ भदौ १४ गते बलात्कार गरे ।
मोरङको उर्लावारी नगरपालिका–१ सुकुम्वासीबस्ती घर भइ ताप्लेजुङमा बस्दै आएकी बालिकालाई बलात्कारपछि महतोले ज्यान मार्ने धम्की दिए ।
बालिकाको दयनीय अवस्था देखेपछि आठराई त्रिवेणी गाउँपालिका–१ का स्थानीयले सोही दिन इन्सेक ताप्लेजुङ प्रतिनिधिलाई घटनाका विषयमा जानकारी दिए । इन्सेकले प्रहरीसँग समन्वय गरेपछि प्रहरीले पीडित परिवारबाट प्रहरीमा उजुरीदिन आग्रह गर्यो ।
प्रहरीले बालिकासँग सोधखोज गरेपछि बालिकाका अभिभावक मोरङको उर्लावारी नगरपालिका–१ सुकुम्वासी बस्ती बस्दै आएको पत्ता लगायो । तर, आर्थिक अभावले ताप्लेजुङसम्म पुगेर उजुरी हाल्न नसक्ने बताएपछि पीडित परिवारबाट प्रहरीमा उजुरी पुग्ने बाटो बन्द भयो ।
इन्सेकले उर्लावारी नगरपालिका–१ वडा कार्यालयसँग बालिकाको पक्षमा प्रहरीमा उजुरी दिन अनुमति माग्यो । वडाध्यक्ष भीष्मराज बुढाथोकीले अनुमति दिए ।
सोही अनुमतिका आधारमा इन्सेकले बालिकाको पक्षमा भदौ १४ गते जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा उजुरी दियो । आरोपितलाई प्रहरीले भदौ १४ गते गिरफ्तार गर्यो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १५ गते भयो ।
इन्सेकको उजुरीका आधारमा प्रहरीले आवश्यक अनुसन्धानपछि आरोपितविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८१ असोज ६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठको कात्तिक ७ गतेको इजलासले आरोपितलाई पुर्पक्षमा पठायो ।
सुकुम्वासी बस्तीमा बस्दै आएका पीडित बालिकाको आर्थिक अवस्था अन्त्यन्त कमजाेर रहेको र पीडित बालिकाको पक्षमा उजुरी गर्ने कोही नभएको अवस्थामा इन्सेकले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको इन्स्पेक्टर कलम लुङ्गेलीले बताउनु भयो ।
जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठको ०८१ कात्तिक २८ गतेको आदेशले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद, पीडितले पाउने गरी ७ लाख रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ भराउन आदेश भएको जिल्ला अदालतका तहसिलदार रोशन बस्नेतले बताउन भयो ।
इन्सेकको पहलपछि पीडित बालिकाले न्याय पाउनुका साथै अदालतको क्षतिपूर्ति भराउने फैसलाले पीडित परिवारलाई थप न्याय प्रदान गरेको छ ।