INSEC Online

📅 २०८३ जेष्ठ २१

एक्सरे मेसिन नहुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा एक्सरे मेसिन नभएपछि बिरामीहरुले सास्ती खेप्नु परेको छ । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको उक्त अस्पतालमा एक्सरे मेसिन नभएपछि सयौं नागरिक सो सेवाबाट बञ्चित भएका छन् ।

जिल्लाका दुर्गम गाउँ बस्तीबाट स्वास्थ्य उपचारका लागि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा आएपनि यहाँ सामान्य औषधी उपचार हुन नसक्दा रित्तो हातमा घर पर्कनुपर्ने बाध्यता छ ।

विगत लामो समयदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउँदा सामान्य औषधी समेत नपाएर बजारमा सञ्चालित मेडिकल तथा फार्मेसीमा महँगो मुल्य तिरेर किन्नुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका–४ का ६३ वर्षीय हिरण्ड बहादुर शाहीले गुनासो गर्नुभयो । शाहीका अनुसार दैनिक ढाड दुखेर जिल्ला अस्पतालमा जाँदा पनि नत राम्रो औषधि हुन सक्यो, नत एक्सरे मेसिनको व्यवस्था नै भयो । अस्पतालमा जाँदा यहाँ एक्सरे मेसिन छैन जिल्ला बाहिर जाँदा हुन्छ भन्ने जवाफ पाएको उहाँले गुनासो गर्नुभयो । जिल्ला अस्पताल जस्तो स्वास्थ्य संस्थामा एक्सरे मेसिन नहुनु दुःखको विषय भएको शाहीले बताउनु भयो ।

ढाड दुखेर हिँडडुल गर्न समेत नसक्ने शाहीले मङ्सिर १५ गते जिल्ला प्रशासन कार्यालय हुम्लामा पुगेर प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीलाई उक्त समस्या बताउनु भएको थियो । तर, प्रमुख जिल्ला अधिकारी रेग्मीले बिरामी शाहीलाई जिल्लाबाहिर गएर उपचार गर्न सुझाव दिनुभयो ।

हुम्लाबाट जिल्ला बाहिर जान हवाई टिकट, बस्न, खानको समस्या हुने गरेको बिरामीहरुको गुनासो छ ।

एक्सरे मेसिनको अभाव रहेको र हाल जेनतेन पुरानो एक्सरे मेसिनले काम चलाइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनु भयो । एक्सरे मेसिन मात्रै नभएर अन्य धेरै मेसिननको आवश्यक्ता रहेको उहाँको भनाइ छ । एक्सरे मेसिन खरिद प्रक्रियामा रहेको डाक्टर तिवारीले जानकारी दिनुभयो ।

नन्द सिंह

अन्य

भिडियो