INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यचौकीमा बर्थिङ् सेन्टर नहुँदा डेलिभरीमा समस्या

नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्वास्थ्यचौकीमा बर्थिङ् सेन्टर र डेलीभरी गर्ने सामान नहुँदा सुत्केरी व्यथा लागेका महिलाहरू समस्यामा पर्दै आएका छन् ।

सो स्वास्थ्य चौकीमा डेलीभरीका सामान नहुँदा स्वास्थ्यकर्मीले घरमै डेलीभरी गराउन बाध्यता रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

नाम्खा गाउँपालिका–३ की आङ्गमु लामालाई पुस २७ गतेदेखि सुत्केरी व्यथा लागे पनि सुत्केरी हुन नसक्दा दुई दिन पैदल बोकेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पुर्‍याएको लामाका पति याङ्क्याप लामाले गुनासो गरे ।

स्वास्थ्य चौकीमा सुत्केरी हुँदा प्रयोग हुने डेलीभरीका औजार नहुँदा पुस २८ गते जिल्ला अस्पतालमा डेलिभरी गराएको लामाको भनाई छ ।

उनले भने–‘गाउँमा रहेका सबै स्वास्थ्य संस्थामा बर्थिङ् सेन्टर डेलिभरीका लागि चाहिने सामाग्रीहरू उपलव्ध गराएको भए यत्रो समस्या हुँदैनथ्यो ।’

खगालगाउँ स्वास्थ्यचौकीमा एक जनमात्र अनमी सोभा रोकाया रहेकी छन् । तर, उक्त स्वास्थ्यचौकीमा डेलिभरीका कुनै पनि सेवासुविधाका सामग्री नभएपछि आफैँलाई पनि दुःख लागेको रोकायाले बताइन् ।

नाम्खा गाउँपालिकाको एक मात्र खगालगाउँ स्वास्थ्यचौकी नभएर सो गाउँपालिकाका हेप्का, मुचु, लिमी स्वास्थ्यचौकी गरि चार ओटा स्वास्थ्य संस्थामा यस्तो समस्या भएको सो गाउँपालिका–६ का जिक्मेत लामाले गुनासो गरेका छन् ।

उनले भने जिल्ला सदरमुकाम सिमकोटमा पुग्नलाई करीव पाँच दिन लाग्छ विरामी विचबाटोमै मृत्यु हुने सम्भावना छ र आर्थिक हुनेलेत हेलिकप्टर समेत झिकाएर व्यक्तिगत लगानी गर्ने गरेका छन तर गरिव निमुखा जनताहरूलाई ठूलो समस्या हुने बताए ।

हुम्लामा हिउँदे सिजनको बेलामा ठूलो हिमपात हुने भएका कारण जिल्ला अस्पतालबाट प्रसूति हुँदा प्रयोग हुने सामाग्री लिन सम्भब नहुदा नहुदै आफ्नो सिप र दक्षतालाई प्रयोग गर्ने गरेको अनमी रोकायाले बताइन् ।

ती स्वास्थ्य चौकीहरूमा हालसम्म बर्थिङ्ग सेन्टर नहुँदा सुत्केरी हुन आउने गर्भवती महिलालाई समस्या भएको उनले बताइन् ।

यस क्षेत्रमा बर्थिङ्ग सेन्टर नहुँदा दुईदेखि पाँच दिनको पैदल हिँडेर जिल्ला अस्पताल सिमकोट पुग्नु परेको यहाँका महिलाहरूको गुनासो रहेको छ ।

सो गाउँपालिकाका सवै स्वास्थ्य चौकीहरूमा प्रसूति गराउन आउने महिलाले नियमित यो समस्या भोग्नु परेको अनमी रोकायाले बताइन् ।

यहाँका स्वास्थ्य चौकीमा डेलीभरीलाई प्रयोग हुने औजार र उपचार गर्ने कर्मचारीसमेत नहुँदा स्थानीय स्वास्थ्य उपचारबाट प्रत्यक्ष वञ्चित हुनु परेको स्थानीय क्याम्वा लामाले बताइन् ।

अन्य

भिडियो