रुकुमपश्चिममा साढे ८ हजार भूकम्पप्रभावितको नाम अनुमोदन भएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकामध्ये ८ हजार ५ सय ७६ लाभग्राहीको नाम आवास पुन:निर्माण तथा प्रबलीकरणका लागि अनुमोदन भएको हो ।
भूकम्पबाट पूर्ण वा आंशिक रूपमा क्षति भएका निजी आवासको विस्तृत क्षति आंकलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको विवरणका आधारमा प्रभावितको नामावली अनुमोदन भएको जिल्ला विपद् व्यवस्थापन समितिकाअध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त नामहरु अनुमोदन गरेको हो ।
यसअघि प्राधिकरणबाट खटिएका प्राविधिकले विस्तृत क्षति आकलनको कार्य सम्पन्न गरेर विपद् सूचना प्रणालीमा प्रविष्ट गरेका थिए । सो विवरणमध्ये जिल्लाका चार ओटा पालिकाका लाभान्वितको सङ्ख्या अनुमोदन भएको हो ।
अनुमोदन भएकामध्ये आठबिसकोटमा ९६ घर पुन:निर्माण र ३ सय ५१ ओटा प्रबलीकरणमा, मुसीकोट नगरपालिकामा २ सय ५३ वटा पुन:निर्माण र ३ सय ७४ वटा प्रबलीकरणमा, त्रिवेणी गाउँपालिकामा १ हजार ४ सय १६ वटा पुन:निर्माण र १ हजार ९ सय ७० प्रबलीकरणमा र सानीभेरी गाउँपालिकामा २ हजार ९ सय ३५ घर पुनर्निर्माण र १ हजार १ सय ८१ घर प्रबलीकरणमा परेका छन् । प्रमुख जिल्ला अधिकारी थानीले चौरजहारी नगरपालिका र बाँफीकोट गाउँपालिकाको विवरण भने अनुमोदन हुन बाँकी रहेको बताउनु भयो ।

उहाँका अनुसार उक्त लाभग्राही सङ्ख्या सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिबाट विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम अनुमोदन भई विपद् सूचना प्रणालीमा प्रविष्टि भएर पेस हुन आएका हुन् । लाभग्राहीलाई सोही कार्यविधि अनुसार कायम गरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने गरी बैठकले निर्णय गरेको हो । सो बैठकले जाडोमा हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने निर्णय समेत गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार भूकम्पबाट रुकुमपश्चिम र जाजरकोटमा १ सय ५४ जनाको मृत्यू भएको थियो भने २६ हजार ५ सय ५७ घर पूर्ण र ३५ हजार ४ सय ५५ घर आंशिक क्षति भएका थिए । ३ सय ६४ घाइते घाइते भएका थिए । रुकुमपश्चिमका मात्र ५३ जनाको मृत्यू भएको थियो भने ३२ हजार ९ सय ९६ परिवार लाभग्राही कायम भएका थिए ।