INSEC Online

📅 २०८३ जेष्ठ २१

दाङमा सरकारी कार्यालय आगजनी र तोडफोड घटनाका २७ आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा दाङमा सरकारी कार्यालय तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले २७ जनालाई गिरफ्तार गरेको छ ।

०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालय, अदालतलगायतका थुप्रै सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा दाङ प्रहरीले मङ्सिर ४ गतेसम्म २७ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । गिरफ्तार गरिएकामध्ये सात जनाविरुद्ध मुद्दा दर्ता गरिसकिएको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार जिल्ला ट्राफिक कार्यालय तोडफोड, आगजनीको आरोपमा १२ जना, इलाका प्रहरी कार्यालय नारायणपुरमा आगजनी गरेको आरोपमा दुई जना, जिल्ला अदालत तोडफोड तथा आगजनीको आरोपमा तीन जना, जिल्ला सरकारी वकिल कार्यालय तोडफोड र आगजनीको आरोपमा दुई जना, घोराहीको भानुचोकमा रहेको प्रहरी विट तोडफोडको आरोपमा एक जना, तुलसीपुर वसपार्क प्रहरी चौकी तोडफोड र आगजनी गरेको आरोपमा चार जना र उच्च अदालत तुलसीपुर कार्यालय तोडफोड गर्ने तीन जना गरी २७ जनालाई गिरफ्तार गरिएको छ ।

आगजनी र तोडफोड घटनाबारे अझै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाङमा तोडफोड र आगजनी गर्नेहरुको पहिचान गर्न एक जना प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको एसपी श्रेष्ठले जानकारी दिनुभयो । दाङमा सरकारी कार्यालय आगजनी, तोडफोडबाट १ अर्व ११ करोडबराबरको क्षति मूल्याङकन गरिएको छ ।

जयनारायण पुन

अन्य

भिडियो