बाग्लुङ्ग जिल्ला निसीखोला गाउँपालिका–६ रास्कोट स्थायी घरभई सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनीगेट स्थित होटल लुम्बिनी गेटमा कार्यरत २० वर्षीया मेलिना परियारको हत्या गरेको आरोपमा प्रहरीले पति ३२ वर्षीय विजय भन्ने बिरबहादुर कुँवरलाई ०८२ कात्तिक ३० गते बुटवल बसपार्कबाट गिरफ्तार गरेको छ ।
पति र पत्नीबिच वादविवाद हुँदा कात्तिक २७ गते राति पतिले मादक पदार्थ सेवन गरी घाँटी थिचेर हत्या गरी फरार भएका थिए ।
आरोपितले पत्नीलाई काम गर्ने होटलको कम्पाउण्डमै रहेको स्टाफकोठामा हत्या गरी फरार रहेको र खोज्ने क्रममा बुटवल उपमहानगरपालिका–९ बसपार्कमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।
घटनाका बारेमा पीडित पक्षले कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । शवको पोष्टमार्टम कात्तिक २९ गते भिम अस्पताल भैरहवामा गरी मृतकका दाजु र परिवारले बुझी सोही दिन सद्गत गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज खड्काले बताउनुभयो ।