INSEC Online

📅 २०८३ जेष्ठ २१

नदीकिनारको माझी बस्तीमा खानेपानीको समस्या !

नदी किनारमा नै बस्ती भएपनि कुश्मा नपा–१ मालढुङ्गाबासीले स्वच्छ खानेपानीको अभाव भोग्दै आएका छन् ।

बस्तीमा ल्याइएको पानी थोरै भएकाले मालढुङ्गाबासीलाई खानेपानीको अभाव भएको हो । पानी अपर्याप्त भएपछि कालीगण्डकी नदी किनारको बस्ती भएर पनि पानीकै लागि दिनहुँ झगडा समेत हुने गरेको स्थानीय बलबहादुर माझीले बताए ।

पर्वत र बागलुङको सिमानामा रहेको यो बजारमा व्यवसायका लागि बसेका सानाठूला गरी करिब तीन दर्जन घरटहरा छन् ।

नजिकै १ सय २३ परिवारको माझी बस्ती छ । बस्तीका लागि २० एमएमको पाइपमा पानी ल्याइएको छ । ठूलो बस्तीका लागि त्यति पानीले पुग्दैन, त्यसैले पानीका लागि झगडा नै पर्ने गरेको बलबहादुर माझी बताउँछन् ।

बस्तीदेखि करिब ४ सय मिटरको दूरीमा खानेपानीको मुहान छ । वितरण व्यवस्थित नहुँदा सो स्थानमा खानेपानीका लागि झगडा हुने गरेको हो ।

‘बिहानदेखि साँझसम्म कुनै बेला पनि पानी सजिलै थाप्नै पाइँदैन ।’–स्थानीय सुमित्रा थापा मगरले भनिन्– ‘यत्रो बजारलाई एउटा मात्रै धारा छ । राति २ बजे उठेर भाँडा नभरे घाँटी भिजाउने पानी पनि पाइँदैन ।’

चिसो मौसममा पानी थाप्नका लागि राति २ बजे उठ्दा गोडा सुन्निने र चिसो लाग्नेलगायतका समस्या हुने गरेको उनले गुनासो गरिन् ।

बिहानदेखि बेलुकासम्म सयौँ यात्रु सो स्थानमा विश्राम लिन्छन् तर सार्वजनिक धारा एउटा मात्रै छ । त्यसैले पनि पानी थाप्नै हानथाप हुने गरेको मालढुङ्गाका व्यवसायी सुमन बुढाले गुनासो गरे ।

ठूलो आकार र क्षमताको पाइपमा पानी ल्याएर वितरण गर्न र धारा थप गर्न ६ वर्षअघि तत्कालिन गाविसलाई स्थानीयबासीले आग्रह गरेपनि हालसम्म त्यसको कुनै निकायबाट पनि सुनुवाइ हुन सकेको छैन ।

त्यसका लागि कृष्ण सुवेदी अध्यक्ष रहेको एक उपभोक्ता समिति पनि गठन भयो । तर, उपभोक्ताको गुनासो कुश्मा नगरपालिकाले नसुनेको स्थानीयको आरोप छ ।

तत्कालिन पाङ गाविस कुश्मा नगरपालिकामा गाभियो, गाभिएसँगै मालढुङ्गा नगरपालिका भित्र परेको पनि चार वर्ष पुगिसक्यो ।

‘नगरपालिका बनिसकेपछि पनि हामीले धेरैपटक समस्या सुनायौँ ।’–उपभोक्ता समिति सचिव होमनाथ सुवेदीले भने–‘हामीलाई पाइपमात्रै देऊ भन्दा पनि दिन मानेनन् ।’

नजिकैको भैँसेओढारमा रहेको मूलमा व्यवस्थित ट्याङ्की बनाउन सके मालढुङ्गा बजार र नजिकैको माझी बस्तीलाई समेत पानीको सुविस्ता हुने सुवेदीले बताए ।

सोही स्थानमा मजदुरका बालबालिकाहरूलाई अध्यापन गराउने लक्ष्यका साथ स्थापना गरिएको श्रमिक प्राथमिक विद्यालयले समेत खानेपानीको समस्या झेल्दै आएको छ ।

व्यवस्थित खानेपानीको प्रबन्ध नहुँदा आन्तरिक श्रोतबाट नै पाइप व्यवस्थापन गरी विद्यालय नजिकैको श्रोतबाट विद्यालयसम्म पानी ल्याएपनि प्रभावकारी हुन नसकेको विद्यालयका प्रधानध्यापक तेजेन्द्र पौडेलले बताए ।

खानेपानी डिभिजन कार्यालय, पर्वतका अनुसार जिल्लाको कुल जनसङ्ख्या १ लाख ४६ हजार ५ सय ९० जनामध्ये १ लाख ३६ हजार १० जना जिल्लाबासीले मात्रै स्वच्छ खानेपानीको सुविधा उपभोग गरिरहेका छन् ।

जिल्लाका सात प्रतिशत जनता अझै पनि स्वच्छ खानेपानीबाट वञ्चितिमा परेका छन् । डिभिजन कार्यालयको तथ्याङ्क अनुसार पर्वतमा रहेका ७७ प्रतिशत आयोजनाहरू पूर्ण रूपमा सञ्चालनमा रहेका र सात प्रतिशत आयोजनाहरू आंशिक रूपमा सञ्चालनमा छन् ।

जिल्लाका ३३ हजार ८ सय ७८ घरधुरीमध्ये २५ हजार ७ सय ६८ घरधुरीले सार्वजनिक धाराको पानी पिइरहेका छन् भने ५ हजार ६७ घर धुरीले नीजि धाराको पानी प्रयोग गर्दै आइरहेको खानेपानी डिभिजनका कार्यालय, पर्वतको तथ्याङ्क रहेको छ ।

अन्य

भिडियो