२८ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा ३० वर्षीय पतिलाई जिल्ला अदालत भोजपुरले पुस २३ गते ६ महिनाको कैद सजाय सुनाएको छ ।
मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–३ कान्ति राजपथ स्थायी घर भई भोजपुर नपा–९मा बस्दै आएका आरोपितलाई न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले कैदसँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेस्तेदार खड्ग खत्रीले बताए ।
पीडित महिलालाई आरोपितले गत असोज २५ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरूद्घ कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही दिन आरोपित विरूद्घ ‘जबरजस्ती करणी’ शिर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएको थियो ।
आरोपितलाई जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १९ गते गरिएको थियो ।