INSEC Online

📅 २०८३ जेष्ठ २१

सिन्धुपाल्चोकको मानव अधिकारको अवस्थाबारे सरकारी निकायहरुसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजना तथा बागमती प्रदेश कार्यालयको संयोजनमा ०८२ कात्तिक २१ गते सरकारी निकायका प्रमुखहरुसँग जिल्लाको मानव अधिकार अवस्थाका बारेमा छलफल कार्यक्रम चौतारामा सम्पन्न भएको छ ।

ब्रेड फर द वल्र्डकी कार्यक्रम संयोजक डेर्विसाकी निकोल, इन्सेक केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक बिजयराज गौतम, इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल, इन्सेक केन्द्रीय कार्यालयका कृष्ण नेपाल तथा इन्सेक प्रतिनिधि नातिबावु धितालसहितको टोलीले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीसँग जिल्ला प्रशासन कार्यालयमा जिल्लाको मानव अधिकारको अवस्था विषयमा छलफल कार्यक्रम गरेको हो ।

 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले देशको राजधानी काठमाडौँबाट नजिक भएपनि सिन्धुपाल्चोक जिल्ला सबै हिसाबले पछाडी परेको जिल्ला भएको बताउनु भयो । जिल्लामा बाल विवाहका घटना कायम रहेको, बलात्कारका घटना धेरै भएको, जातीय विभेदका घटना समाजमा भएपनि उजागर हुन नसकेको, बैदेशिक रोजगारीमा गएका महिलाहरु धेरै ठगिएर श्रमशोषण तथा यौन शोषणमा परेर स्वदेश फर्कन बाध्य भएका घटनामा बढोत्तरी रहेको भन्दै जिल्लाको समग्र मानव अधिकारको अवस्था बारे धारणा राख्नु भएको थियो ।

मानव अधिकारसँग सम्बन्धित घटनाहरु न्यूनीकरण गर्न सरकारी निकायहरुबाट मात्र सम्भव नहुने भन्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले यो कार्य गर्न इन्सेकको सहयोग आवश्यक रहेको बताउनु भयो ।

सरकारी तथा अन्य गैरसरकारी निकायबाट गर्न नसकेको काम इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरेर देशकै लागि उल्लेखनीय काम गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो । मानव अधिकार हनन्का घटनाको प्रमाणको रुपमा सरकारी निकाय समेतले वर्ष पुस्तकलाई लिने गरेको र गम्भीर प्रकृतिका घटनामा परेका पीडितहरुलाई सहयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालयले इन्सेकलाई रिफर गर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले मानव अधिकार संरक्षण, सम्वर्धन र प्रवर्धनकालागि जिल्ला प्रहरी कार्यालयले इन्सेकसँग सधै सहकार्य गर्दै आएको बताउनुभयो । एसपी कार्कीले जिल्लामा तीन महिनामा भएका घटनाहरु प्रस्तुत गर्दै बलात्कार घटना ६ वटा, बालयौन दुव्र्यवहार एक, बहुविवाह एक, हाडनाता करणी एक गरी नौ वटा घटना भएको बताउनु भयो ।

प्रहरी कार्यालयहरुलाई बालमैत्री र महिलामैत्री बनाइएको, ग्रामीण बस्तीहरुमा गएर प्रहरीले विभिन्न विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको भएपनि जिल्ला प्रहरी कार्यालयले मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दा इन्सेकको साथ सहयोग लिने गरेको र यो सहयोग सधैभरी आवश्यक रहेको बताउनु भयो ।

इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले इन्सेकले हालसम्म गर्दै आएको कामहरुको जानकारी गराउदै आगामी दिनमा इन्सेकले सरकारी निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिने बताउनु भयो ।

ब्रेड फर द वल्र्डकी कार्यक्रम संयोजक डेर्विसाकी निकोलले मानव अधिकार हनन्का घटनाहरु प्रहरी कार्यालयमा कसरी आउछन् ? घटना कसरी दर्ता हुन्छ ? त्यसमा इन्सेकको भूमिका कस्तो रहेको छ ? जस्ता विषयमा विभिन्न जिज्ञासा राख्दै सबैको सहकार्यबाट मात्र मानव अधिकार संरक्षण हुने बताउनु भयो ।

निकोलको जिज्ञासालाई जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले पीडित आफै आएर उजुरी दर्ता गर्ने र इन्सेक तथा अन्य निकायको सहयोगमा पीडितपक्षबाट सूचना प्रहरीलाई उपलब्ध हुने र उजुरी तथा सूचना आउनासाथ प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया कानुन अनुसार अगाडी बढाउने बताउनु भयो ।

कार्यक्रमको सहजीकरण इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले गर्नुभएको थियो ।

नातिबावु धिताल

अन्य

भिडियो