सदरमुकाम चरिकोट रहेको पशुपति चौलागाई स्मृती अस्पतालमा औषधी अभावका कारण विरामीहरु मर्कामा परेका छन् । अस्पतालमा दैनिक २ सय जना बिरामी सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा स्वास्थ्य बिमा बोर्ड र प्रदेश सरकारले समयमै रकम उपलब्ध नगराएका कारण अस्पतालको फार्मेसीमा औषधी अभाव भएकोे हो ।
स्वास्थ्य बिमा गरेका बिरामीहरुले सामाजिक सञ्जालहरुमा औषधी नपाएको भन्दैै गुनासो सार्वजनिक गरेपछि अस्पतालले आर्थिक अभावका कारण औषधी खरिद गर्न नसकेको ०८२ कात्तिक १९ गते पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ ।
अस्पताललाई स्वास्थ्य बीमा बोर्डले बक्यौता रकम भुक्तानी नगर्दा औषधि खरिदमा समस्या आएको अस्पालका सुपरिटेन्डेन्ट लक्ष्मण खड्काले बताउनु भयो । खड्काका अनुसार गत वर्षको फागुनमा ४० लाख रुपियाँको औषधी खरिद गरिएको र सोही औषधी हालसम्म बिरामीलाई प्रदान गर्दै आइएको छ ।
उहाँका अनुसार स्वास्थ्य बीमा बोर्डले बीमा लागु भएदेखि हालसम्म अस्पताललाई बिमा बापतको ८६ लाख ९६ हजार ६ सय ३२ रुपियाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै बोर्डले चालु आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म १० हजार रुपियाँ मात्रै भुक्तानी गरेको सुपरिटेन्डेन्ट खड्काले बताउनु भयो । अस्पताल प्रशासनका अनुसार तत्कालका लागी करिब ४० देखि ५० लाख रुपियाँ बराबरको औषधि खरिद गर्न सकेमा औषधी अभाव नहुने भएतापनि अस्पतालको खरिद क्षमता नभएका कारण औषधी वितरणमा समस्या आएको हो ।
बाममती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा अस्पतालका लागि २८ लाख रुपियाँ बजेट विनियोजन गरेता पनि हालसम्म रकम प्राप्त नभएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुवास रिमालले बताउनुभयो ।
उहाँले हाल अस्पतालको आन्तरिक स्रोतबाट आम्दानी भएकोे रकमको केही प्रतिशत रकम विमा अन्र्तगतका बिरामीका लागि लगानी गरिएको बताउनु भयो ।
अस्पतालले मासिक ५ लाख रुपियाँ भन्दा बढी विद्युतको महसुल समेत आन्तरिक स्रोतबाट तिर्ने गरेको छ भने बाँकी रकम कर्मचारीको तलबमै खर्च हुने भएकाले अन्य सेवा विस्तार गर्न नसकिएको अध्यक्ष रिमालले बताउनु भयो ।
उहाँले औषधि खरिद गर्नका आवश्यक रकम अभाव भएकै कारण बिमा कार्यक्रम अन्तर्गत स्वास्थ सेवा प्रवाह गर्न समस्या भएको र स्वास्थ्य बीमा बोर्डलाई पटक–पटक रकम माग गर्दा पनि रकम प्राप्त नभएको गुनासो गर्नुभयो ।