INSEC Online

📅 २०८३ जेष्ठ २१

थमन हत्याका सम्बन्धमा उच्च अदालतले पटकपटक पेसी तोके पनि सुनवाइ भएन

मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्यासम्बन्धी मुद्दाको पेसी उच्च अदालत जनकपुरमा लगातार सर्दै आएको छ ।

पछिल्लो पटक पुस १९ गते बिहीबार जनकपुर उच्च अदालतको बेन्च नम्बर २ मा परेको पेसी १० औँ पटक सारिएको छ । यसअघि १२ पुसमा तोकिएको पेसी पनि सारिएको थियो ।

सो मुद्दाको पेसी पुस २६ गतेकालागि तोकिएको उच्च अदालत जनकपुरका प्रवक्ता रमाकान्त यादवले जानकारी दिए ।

२५ भदौ ०७२ मा मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो ।

बिकलाई आन्दोलनकारीहरूले सुरूमा जलेश्वरमा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको उपचार जलेश्वर अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा महोत्तरी गाउँपालिका स्थित सोनउखडा भन्ने स्थानमा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीहरूले खेतमा लगी निर्घाट कुटपिट गरी मारेका थिए ।

सो मुद्दामा २८ साउन ०७५ मा जिल्ला अदालत महोत्तरीले अभिराम शर्मा, रामाशङ्कर मिश्र, सुरेन्द्र पाण्डेय, धमेन्द्र रायलगायत  २८ जनामाथि मुद्दा दर्ता गरेको थियो ।

तीमध्ये शर्मा प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री छन् भने मिश्र जलेश्वर नगरपालिकाका मेयर छन् । मिश्र, पाण्डेय, राय साधारण तारेकमा रिहा भइसकेका छन् ।

महोत्तरी जलेश्वर नगरपालिका–३ का सञ्जयकुमार साह र जलेश्वर–२ का प्रदीप साह माझी पुर्पक्षका लागि जेलजीवन बिताइरहेका छन् ।

२८ साउनमा जिल्ला अदालत महोत्तरीले गरेको आदेशमा त्रुटी भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले ११ असोज ०७५ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको छ ।

साधारण तारेखमा छुटेका आरोपितहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा रिट दायर गरेको हो । तर, सो मुद्दामा उच्च अदालत जनकपुरले पटक–पटक पेसी तोके पनि अहिलेसम्म सुनवाइ हुन सकेको छैन ।

उच्च अदालत जनकपुरका प्रवक्ता रमाकान्त यादवले अहिलेसम्म सो मुद्दाको १० ओटा पेसी तोकिएको भएपनि आरोपिततर्फका कानुन व्यवसायीहरूले पटकपटक मुद्दाको पेसी सार्दै आएको बताए ।

अन्य

भिडियो