नेपाल सरकारले आगामी ०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोकिएसँगै जिल्लामा मतदाता नामावली संकलन कार्य सुरु गरिएको छ । निर्वाचन कार्यालयले गरिरहेको मतदाता नामावली संकलनको क्रममा युवा उमेर समूहका युवा बढी रहेको पाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाले ०८२ असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु भएको हो । मतदाता नामावली सङ्कलनका क्रममा हालसम्म १ सय ४९ जना पुरुष र ७९ जना महिला गरी २ सय २८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिनुभयो ।
१६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले जिल्ला निर्वाचन कार्यालयमा पुगेर आफ्नो नाम दर्ता गराउने कार्य जारी छ । निर्वाचन अधिकारी धामीका अनुसार कात्तिक ३० गतेपछि निर्वाचन कार्यक्रम सुरु हुने हुँदा नामावली सङ्लनका लागि सो समयसीमा तोकिएको छ ।
सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न पाइने जिल्ला निर्वाचन कार्यालय, दार्चुलाले जनाएको छ । निर्वाचन कार्यालय, दार्चुलाका अनुसार जिल्लामा यसअघि १८ वर्ष पुरा भएका ९० हजार ७ सय ८२ जना मतदाता रहेका छन् ।
जसमध्ये पुरुष ४६ हजार ४ सय ३५ जना र महिला ४४ हजार ३ सय ४७ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता नामावली संकलनमा युवाहरु स्वस्फुर्त रुपमा नाम दर्ताको लागि आउने गरेको धामी बताउनुहुन्छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेका छन् ।
नरेन्द्रसिह कार्की