सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण डडेल्धुराका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् ।
स्वास्थ्य संस्थाबाट सुत्केरी भएका महिलालाई घरसम्म पुर्याउन सवारी चालकहरूले नमान्ने र पुर्याएपनि चर्को रकम लिने भएकाले सुत्केरी महिला समस्यामा परेका हुन् ।
अजयमेरु गाउँपालिकामा मात्रै यो आर्थिक वर्षमा ५ जना महिला घरमै सुत्केरी भएको समैजी स्वास्थ्य चौकीका प्रमुख गणेश पालले बताए ।
गाउँमा सुरक्षित प्रसूति केन्द्र नभएको र जिल्ला सदरमुकाम जानका लागि यातायातको सुविधा नभएका कारणले घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहेको अजयमेरु गाउँपालिका–३ का जनक ऐडीले गुनासो गरे ।
जिल्लाका अन्य ठाँउमा पनि यस्तो समस्या रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत टङ्कप्रसाद चापागाईको भनाइ छ ।
‘अधिकांश क्षेत्रका स्थानीय अझैपनि सुत्केरी भएको बेला आफ्नै पत्नीलाई समेत छुन मान्दैनन् ।’– चापागाईले भने ।
सरकारले आमा सुरक्षा कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा गर्भवती चेक जाँच गर्ने महिलालाई भत्तासमेत दिँदै आएको छ । तर, प्रसूति केन्द्र नहुँदा दुर्गमका महिला भत्ता र सुरक्षित सुत्केरी सेवाबाटै वञ्चित रहेका छन् ।