पछिल्लो समयमा राउटे बस्तीमा अन्य समुदायका व्यक्तिले विभिन्न अपराधिक घटना गराउन थालेपछि आफूहरू असुरक्षित भएको भन्दै राउटे समुदायले सुरक्षाको माग गरेका छन् ।
नेपालको एक मात्रै घुमन्ते समुदाय राउटे हाल सुर्खेत जिल्लाको लेकबेशी नपा–९ चौरासे खोला नजिकको खाँणदेवी सामुदायिक वनमा दुई हप्ता अघिदेखि बस्दै आएका छन् ।
केही दिनअघि राउटे वस्तीमा मादक पदार्थ सेवन गरी आएका सोही गाउँपालिका–५ का १९ वर्षीय राजु रजालीलाई राउटेहरूले असोज २४ गते राति नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएका रजालीलाई राउटेहरूले असोज २५ गते प्रहरीलाई बुझाए । रजालीले १८ वर्षीया राउटे युवतीलाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको जनायो ।
गत जेठमा सामाजिक सञ्जालमा भाइरल हुने मनसायले चार जना राउटे युवतीसँग गुडिरहेको ट्रकमा गलत नियतसहितको दुर्व्यवहारपूर्ण भिडियो खिच्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गर्यो । राउेट युवतीसँग गरिएको गलत हर्कतसहितको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि सुर्खेत प्रहरीले त्यसको अनुसन्धान गरेको थियो ।
सार्वजनिक भएको भिडियोमा युवतीलाई दुर्व्यवहार गर्ने कार्यमा संलग्न दैलेखको आठविस नपा–३ का तपेन्द्र शाहीलाई दैलेख प्रहरीले गिरफ्तार गररे सुर्खेत प्रहरीको जिम्मा लगायो । उनीमाथि साइबर अपराध र दुव्र्यवहार मुद्दा प्रहरीले चलायो ।
२०७८ जेठ २१ गते सुर्खेतको गुर्भाकोट नपाको बोटेचौर नजिकै राउटे समुदायका २३ र १९ वर्षीया दुई युवती सामान किन्न बजार गएको अवस्थामा होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरूले यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भयो । यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो ।
गुर्भाकोट नगरपालिकाका स्थानीय तीन जना युवाले उनीहरूलाई होटलमा मदिरा सेवन गराएर बेहोस बनाएपछि होटलको कोठामा पुर्याई आफूहरू अर्धनग्न बनेर भिडियो बनाएका थिए ।
यस घटनमा संलग्न गुर्भाकोट नगरपालिका–९ का ३५ वर्षीय चमन घर्तीमगर र २४ वर्षीय भुपेन्द्र बुढामगरलाई जिल्ला अदालत सुर्खेतले सात\सात वर्ष कैद र जनही २ लाख रुपियाँ जरिवानासहितको फैसला सुनायो । हाल उनीहरू कारागारमा छन् ।
पछिल्लो समय राउटे बाह्य समुदायबाट असुरक्षित भई सार्वजनिक भएका यी केही प्रतिनिधिमुलक घटना मात्र हुन् । राउटे बस्तीमा मानिसहरूको घुलमिल बढ्न थालेपछि उनीहरूमाथि यस्ता थुप्रै घटना भएका छन् । राउटे समुदाय असुरक्षित बन्दै गएको छ । केही वर्ष पहिलेसम्म राउटेहरू शहर बजार घुम्ने र अन्य समुदायका मानिससँग घुलमिल हुने गर्दैनथे । राउटे समुदाय अहिले खुलेर सबैसँग घुलमिल हुन्छन् । उनीहरूले पछिल्लो समय सबैजसो समुदायमा पुगेर अन्न तथा नगद सहयोग माग्ने गरेका छन् । राउटे समुदायको गरिबी, अभाव र सोझोपनाको फाइदा उठाउँदै केही व्यक्तिहरूले उनीहरूमाथि गलत क्रियाकलाप गर्ने गरेका छन् । जसका कारण रूपान्तरण भएर भर्खरै सामाजीकरणको मूलप्रवाहमा आउन थालेको यो समुदायमा झनै असुरक्षा बढेको छ ।
पछिल्लो समय राउटे समुदायमा विभिन्न घटना हुन थालेपछि राउटे दिपक शाही, कपिल शाही, किताब शाही, विनी शाहीसहितको राउटेको एक टोलीले ०८२ असोज २६ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी सुधिरराज शाहीसँग भेट गरी सुरक्षाको माग गरेका हुन ।
जिल्ला प्रहरी कार्यालयका एसपी शाहीले राउटे बस्तीमा सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिनु भएको छ । सुरक्षा सम्बन्धी कुनै समस्या आएमा आफूलाई सिधै फोन गर्न भन्दै राउटेसहित जिल्ला प्रहरी कार्यालयमा पुगेको टोलीलाई एसपी शाहीले प्रहरी कार्यालयको नम्बर उपलब्ध गराउनु भएको थियो ।
आयोगको सुझाव कार्यान्वयन भएन
राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको संरक्षण, सुरक्षा र उनीहरुको प्रथाजनित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई दिएको निर्देशन दुई वर्ष हुँदा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
आयोगले २०८० चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरेर तीन तहका सरकार र गैरसरकारी कार्यालयहरुलाई राउटे समुदायका बारेमा गर्नुपर्ने कामहरु बुँदागत रुपमा लेखेर पठाएको थियो । बुँदागत निर्देशनमा आयोगले राउटेहरुका लागि घुम्ती प्रहरी चौकी स्थापना गर्न, संरक्षित क्षेत्र घोषणा गर्न, मदिरा र सुर्तिजन्य पदार्थ बिक्री–वितरण बन्द गर्न, राउटे खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न निर्देशन दिएको थियो ।
आयोगले संघीय सरकारलाई राउटेको सामाजिक, सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न र राउटेको बस्ती स्थानान्तरणसँगै स्थानान्तरित हुने गरी घुम्ती प्रहरी चौकी स्थापना गर्न निर्देशन दिएको थियो भने प्रदेश सरकार र स्थानीय तहलाई राउटे समुदायका नागरिकलाई प्रशासन, पञ्जिकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्यलगायतका सेवाका लागि राउटेको बस्ती स्थानान्तरणसँगै स्थानान्तरित हुने गरी घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न निर्देशन दिएको थियो ।
आयोगले राउटे समुदायको उत्थान, मुलप्रवाहीकरण तथा सशक्तीकरणका लागि एकीकृत आवधिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न, राउटेका मामिलामा काम गर्न कुनै खास निकायलाई जिम्मेवारी तोक्न पनि निर्देशन दिएको थियो । आयोगको पत्रमा राउटे समुदायको गोपनीयताको अधिकार संरक्षणको लागि राउटेको स्वतन्त्र पूर्वसूचित मन्जुरी विना कुनै पनि श्रव्य दृश्य सामाग्री तयार, संकलन र प्रसारण नगर्न÷नगराउन भनिएको छ ।
आयोग र इन्सेकको अनुगमन
पछिल्लो समय राउटे समुदायमा भइरहेका घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र मानव अधिकार रक्षक सञ्जालको टोलीले ०८२ असोज २५ गते स्थलगत अनुगमन गरेको थियो ।
अनुगमन पश्चात इन्सेक र मानवअधिकार रक्षक सञ्जालको टोलीले जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी सुधीरराज शाहीसँग भेट गरी राउटे बस्तीमा सुरक्षाको व्यवस्था मिलाउन र उक्त बस्तीमा अन्य समुदायका मानिसको सहज रुपमा जाने गर्दा राउटे समुदायको गोपनियता लगायत सुरक्षा चुनौती थपिएकाले यस विषयमा आवश्यक पहल गरिदिन अनुरोध गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।
घट्दै राउटेको जनसङ्ख्या
राउटे बस्तीमा हाल ४० घरका १ सय ३६ जना बसोबास गदर्छन । जसमध्ये ६४ जना पुरुष र ७२ जना महिला रहेका छन् । राउटे बस्तीमा चार जना सुत्केरी महिला रहेका छन् ।
२०७८ जेठमा राउटेहरु सुर्खेतको गुर्भाकोट नपा ९ सिमघाटमा बस्दथे । उक्त समय सिमघाटमा १ सय ४१ जनाको संख्यामा राउटे रहेको इन्सेकको स्थलगत अनुगमन प्रतिवेदनमा उल्लेख छ ।
दैलेख जिल्लाको गुराँस गाउँपालिकाले प्रति राउटेलाई मासिक चार हजार रुपियाँ बस्तीमा पुगेर त्रैमासिक रुपमा भक्ता उपलब्ध गराउँदै आएको छ ।
नेपालको एक मात्रै फिरन्ते जीवन बिताउने राउटेहरु क्रमश अन्य समुदायमा घुलमिल भइरहेको सन्दर्भमा उनीहरुको सोझोपनलाई फाइदा उठाउने क्रममा बाह्य समुदायबाट विभिन्न घटना भइरहेको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापाले बताउनु भयो । राउटे बस्तीका कुनै व्यक्तिसँग फोन छैन । बस्तीमा कुनै समस्या परेको वा कसैलाई कुनै सूचना दिन परेमा, कसैलाई फोन गर्न प¥यो भने फोन भएको कुनै व्यक्ति बस्ती नजिक आएमा वा बस्तीका राउटे फोन भएको व्यक्तिसमक्ष आफै गएर फोन गर्ने गरेका छन् ।
कर्णाली प्रदेश कार्यालय