राष्ट्रिय मानव अधिकार आयोगले ०८२ असोज २२ गते जारी गरेको प्रेस विज्ञप्तीमा शान्ती सुरक्षालाई मजबुत बनाउन र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेनजी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पार्न सक्ने प्रभाव तथा मानव अधिकारको उपभोगमा आउनसक्ने अवरोधका घटनाहरुलाई आयोगले गम्भीरतापूर्वक लिएको विज्ञप्ती उल्लेख छ ।
गत भदौ २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिनुका साथै विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण सङ्कलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको ०८२ असोज २२ गते जारी विज्ञप्तीमा जनाइएको छ ।
त्यस्तै, हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जाने आयोगले जनाएको छ ।
सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत कर्तव्य हुन जाने विज्ञप्तीमा उल्लेख छ ।
विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरु चाल्न आयोगले नेपाल सरकारलाई निर्देशन गरेको छ ।
साथै, विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोगले राजनीतिक दल र समूहलाई आग्रह गरेकोे छ ।
यस प्रकारका कार्यमा सघाउन आयोगले नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई अपिल गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
दीपकप्रसाद घिमिरे