अकस्मात रूपमा प्रयोगमा ल्याउनुपर्ने महत्वपूर्ण खोप र औषधिको अभाव देखिएको छ । प्राय स्वास्थ्य संस्थाहरूमा सहजै पाइने टिटानस खोप, डाइजेपाम, प्याथेडिन इन्जेक्सनहरूको अभाव देखिएको हो ।
जिल्लास्थित भरतपुर अस्पतालमा समेत यस्ता औषधिहरूको अभाव देखिएको भन्दै अस्तपालका मेसु डा. कृष्णप्रसाद पौडेलले अकस्मात प्रयोगका लागि केही मात्रामा स्टक रहेको भए तापनि प्रशस्त मात्रामा भने नरहेको बताए ।
महत्वपूर्ण र अत्यावश्यक औषधिको अभावबारे विभाग र मन्त्रालयमा जानकारी गराइएको तर समस्या समाधान नभएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले टेण्डरमार्फत ल्याइएको यस्ता औषधिहरू सप्लायर्सले मागे जति दिन नसकेको बताए ।
जटिलदेखि सामान्य चोटपटक र घाउमा पनि टिटानस खोप लगाइन्छ । भरतपुर अस्पतालका फार्मेसी शाखाका कर्मचारी रामहरी ढकालका अनुसार टिटानससँगै अत्यावश्यक प्रयोगमा आउने डाइजेपाम, प्याथेडिन इन्जेक्सन, ट्रमाडोलहरू जस्ता औषधिहरूको अभावले गर्दा बिरामीहरूको उपचारमा समस्या भएको छ ।