INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या गर्न गएको छोराद्वारा आमाको हत्या !

आत्महत्या गर्न खोजेको छोरालाई जोगाउन जाँदा उनै छोराबाट नारायण नगरपालिका–३ भूर्तीकी ४७ वर्षीया पार्वती नेपालीको हत्या भएको छ । उनका कान्छो छोरा २६ वर्षीय बालाराम नेपालीले कोदालोले प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

नाम्लोले पासो लगाउँछु भन्दै हिँडेका बालारामलाई त्यसो नगर्न रोइकराई गरिरहेकी आमालाई लखेटेपछि भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला कोदालोले टाउकोमा प्रहार गरेपछि पार्वतीको घटनास्थलमै प्राण गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आमाको हत्या गरिसकेपछि ७० वर्षीया बज्यै जुवारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली, २४ वर्षीया कौशिला नेपालीलगायतका छिमेकीहरूलाई कुटपिट गर्दै गाउँ नै आतङ्कित गरेको भन्ने सूचनाको आधारमा घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको छ ।

पार्वतीको हत्या गरिएकै कोदालोको प्रहारले जुवाराको टाउको फुटेको छ । अरू घाइतेहरू सामान्य उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइते जुवाराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डा. अजित न्यौपानेले भने–‘सक्दो प्रयास गरिरहेका छौँ ।’

शवको पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा राखिएको छ । हत्याका आरोपित बालारामलाई घटनास्थलबाटै गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ । आरोपित बालारामले गत वर्ष आफैँले ब्लेडले घाँटी रेट्न खोज्दा घाइते भएका थिए । दुई महिना अस्पतालमा राखी उनको उपचार गरिएको थियो ।

अन्य

भिडियो