चौथो भजन मानव अधिकार पुरस्कार कैलाली जिल्लाका फिरूलाल चौधरीले पाउने भएका छन् । प्रत्येक दुई वर्षमा अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन प्रदान गरिने भजन मानव अधिकार पुरस्कार मानव अधिकार र कमैया मुक्ति अभियानमा उल्लेखनीय भूमिका निर्वाह गरेका फिरूलाल चौधरीको नाम सिफारिस गरिएको पुरस्कार छनौट समितिका संयोजक विकास अचार्यले बताए ।
चौधरी कैलाली जिल्लाको जानकी गाँउपालिका–खर्गौलीमा २०२३ साल जन्मिएका थिए । सात वर्षको उमेरमा स्थानीय जमिन्दारको घरमा परिवारसँगै कमैया बसेका उनले श्री महेन्द्र शिशु निमावि दुर्गौलीबाट अध्ययन आरम्भ गरेका थिए ।
एसएलसी परीक्षा दिएपछि गाँउमा प्रौढ कक्षा सञ्चालनबाट समाजिक क्षेत्रमा जोडिएका चौधरी कमैया मुक्ति अभियनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विभिन्न सङ्घ संस्थामा आवद्ध रहेका चौधरी मानव अधिकार र समाजिक क्षेत्रमा क्रियाशील रहेका छन् ।
पहिलो भजन मानव अधिकार पुरस्कार बर्दियाकी समाजसेवी मङ्गलादेवी श्रेष्ठलाई प्रदान गरिएको थियो । यसैगरी ०७३ सालमा दैलेख जिल्लाकी पार्वती विशुङ्खे, ०७१ सालमा बाँके जिल्लाकी सावित्री बर्मालाई प्रदान गरिएको थियो ।
२५ हजार रुपियाँ राशी रहेको भजन मानव अधिकार पुरस्कार प्रत्येक दुई वर्षमा मानव अधिकार र समाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका व्यक्तिहरूलाई प्रदान गर्ने गरिन्छ ।
इन्सेक नेपालगञ्जमा कार्यरत भजनराम चौधरीको ०६९ जेठ १६ गते प्रात भ्रमणमा रहेको अवस्थामा बसको ठक्करबाट निधन भएको थियो ।
स्वर्गीय चौधरीको सम्झनामा भजनराम अक्षय कोषको स्थापना गरी प्रत्येक दुई वर्षमा साविकका मध्य तथा सुदूर पश्चिममा मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गर्ने अधिकारकर्मीलाई सम्मान गर्ने गरेको छ ।