जिल्लामा गएको एक महिनायता नर्स नहुँदा बिरामीहरू समस्यामा परेका छन् । ५ जना स्टाफ नर्सको दरबन्दी भएको बैतडी जिल्लामा एकजना पनि कार्यरत नरहेको डाक्टर जगदीश विष्टले बताए ।
जिल्ला अस्पतालमा मात्रै चार जना स्टाफ नर्सको दरबन्दी थियो तर अहिले अस्पतालमा एकजना पनि छैनन् ।
जिल्ला अस्पतालमा स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको डाक्टर विष्टले बताए । उनले भने-‘जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्स तालिम प्राप्त हुन्छन् । गर्भवतीको अल्ट्रासाउण्ड सेवा पनि म नभएको बेला ठप्प हुन्छ । अल्ट्रासाउण्ड गर्ने तालिम प्राप्त नर्सको सरूवा भएपछि सेवा दिनै गाह्रो भएको छ ।’
जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा पनि उपलब्ध छ । तर, नर्सको अभावमा सो सेवा समेत प्रभावित हुने गरेको डाक्टर विष्टले बताए । उनले भने-‘अप्रेशनका लागि डाक्टरको सहयोगीको रूपमा स्टाफ नर्सहरूले काम गर्नुहुन्छ । हामी टीम मिलेर अप्रेशन गर्ने हो । तर स्टाफ नर्स नै नहुँदा अनमी र म मिलेर अप्रेशन गरिरहेका छौँ ।’
डा. विष्ट अस्पतालमा नभएको बेला गर्भको अल्ट्रासाउण्ड गर्न पुग्नेहरू त्यसै फर्कने गरेका छन् । अल्ट्रासाउण्ड गर्ने तालिम प्राप्त नर्सहरूको सरूवा भएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको हो ।
‘डाक्टरहरूको पनि तीनजनाको दरबन्दी हो । तर म एक्लै छु । काम बिशेषले बाहिर जाँदा अल्ट्रासाउण्ड सेवा र अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने सेवा पूर्ण रूपमा अवरूद्ध हुने गरेको छ । यसले गर्दा स्थानीयहरूलाई असहज भएको छ ।’-डाक्टर जगदीश विष्टले भने ।
जिल्ला अस्पताल बैतडीमा जटिलतायुक्त प्रसूति सेवा लिनका लागि बैतडीका मात्रै नभएर छिमेकी जिल्ला दार्चुलाका विभिन्न स्थानका सेवाग्राही पनि आउने गरेका छन् । तर, स्टाफ नर्स र डाक्टरको अभावमा अस्पतालले सेवा प्रदान गर्न नसकिरहेको डा. विष्टले बताए ।
जिल्ला अस्पतालमा मात्रै नभएर प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा स्टाफ नर्सको दरबन्दी खाली छ ।
एकजना स्टाफ नर्स भएका दुवै स्वास्थ्य केन्द्रमा स्टाफ नर्स नभएको डा. विष्टले बताए । स्टाफ नर्स नहुँदा उपचार सेवा र परामर्श सेवा प्रभावित भएका उनले बताए ।
उनले भने-‘हामीले विभागलाई स्टाफ नर्स नभएको बारेमा जानकारी गराइसकेका छौँ । तर, पदपूर्ति कहिले हुने हो ? केही थाहा छैन ।’
जिल्ला अस्पतालमा डाक्टर र नर्सको अभाव हुँदा बैतडीबासीले उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ ।
‘स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारीको अभाव छ । सानोतिनो बिरामीका लागि पनि भारतीय शहर जानुको विकल्प छैन ।’-दशरथचन्द नगरपालिका-१ का पुस्कर भट्टले भने-‘स्थानीस्तरमा भएका अस्पतालहरूको स्तरोन्नती गरी दरबन्दी अनुसारका डाक्टर र नर्सको पूर्ति गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । नत्र हामीले उपचारका लागि हजारौँ रुपियाँ भारतमा तिर्नु परिरहेको छ ।’