जिल्ला अस्पतालमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी एक वर्षदेखि नहुँदा सेवाग्राहीका काम प्रभावित भएका छन् ।
जिल्ला अस्पताल हुम्लामा चार जना डाक्टरको दरवन्दी रहेकोमा हाल दुई जना मात्र कार्यरत छन् भने दुई जना स्टाफ नर्सको दरवन्दीमा हाल एक जना पनि कार्यरत छैनन् ।
डाक्टर र नर्स नभएपछि अस्पतालमा भर्ना भएका बिरामीले उपचार नपाएको सिमकोट गाउँपालका–७ की रविना सिंहले आरोप लाइन् । सिंहका अनुसार आफ्नी चार वर्षीया बहिनी उषा सिंहलाई निमोनिया भएको छ । उपचारका लागि तीन घण्टाको पैदल हिँडेर जिल्ला अस्पतालमा ल्याएकी छु । त्यो पनि समयमै उपचार गर्ने डाक्टर नआउँदा रोग झन् बल्झिँदै आएको छ ।
०७४ सम्म एक जना नर्स ज्योती हमालले मात्र काम गर्दै आएकी थिइन् उनी पनि सरूवा भएर काठमाडौँ गएपछि अस्पताल नर्सविहीन भएको हो ।
हुम्लाका डाक्टर टर्सी आङजोक लामाले दुई जनाको दरबन्दी भए पनि एकजना नर्स एक वर्षदेखि जिल्लामा नआएको जानकारी दिए । उनले भने–‘यतिखेर दुई जना डाक्टर र एक जना अनमीले जिल्ला अस्पतालमा काम गर्दै आएका छौँ ।’ यसमा पनि डाक्टर र नर्स अभावका कारण उपचार भने सहजै हुन नसकेको बताए ।
अन्य जिल्लाको तुलनामा हुम्लामा स्वास्थ्यकर्मीको सङ्ख्या कम भएसँगै काममा समस्या भएको लामाले बताए ।
जिल्ला अस्पताल हुम्लामा नवौँ र आठौँ तहका गरी दुई स्थायी डाक्टर र आवश्यकता अनुसार कर्मचारी हुनुपर्नेमा दुई डाक्टर र एक अनमीको भरमा अस्पताल चलाउँदा विभिन्न समस्या आइपरेको बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटाइएका डाक्टर डिल शाही रोका फिर्ता भएपछि जिल्लामा दुईजना स्थानीय डाक्टर नवीन रोकाया र डाक्टर टर्सी आङजोक लामा मात्रै कार्यरत छन् । जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जितकुमार यादवको सरूवा भएपछि जिल्ला अस्पताल हुम्लाको निमित्त प्रमुखका रूपमा डाक्टर लामा कार्यरत छन् ।
अस्पतालका लागि चीन सरकारले ६० लाख बराबरको उपकरण सहयोग गरेको डाक्टर रोकायाले बताए । दुई ओटा इसिजी मेसिन, दुई ओटा मल्ट्रिफन्सन मनिटर, १५ ओटा बिपी कप सहयोग गरेको उनले बताए ।
तर, यी उपकरण चलाउने डाक्टर नहुँदा सो उपकरण थन्किएका छन् डाक्टर टसी लामाको भनाई छ । उनले भने हुम्ला अस्पतालमा समयमै अन्य दुई जना डाक्टर नपठाएमा बिरामीलाई थप समस्या हुने गरेको जनाए । र, यतिखेर बिरामीको सङ्ख्यामा पनि बृद्धि भएको जनाए ।