हुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख डेढ महिनादेखि जिल्लामा नहुँदा सेवाग्रहीका कामकाज प्रभावित भएका छन् ।
असोज दोस्रो हप्तादेखि दसैँ मनाउन जिल्ला बाहिर गएका सरकारी कार्यालयका प्रमुख तिहार सकिएको एक हप्ता भइ सक्दा पनि अझै जिल्लामा फर्केका छैनन् ।
तिहार आउन केही दिन अगाडी सरकारी कामकै सिलसिलाले जिल्ला छाडेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना अझै जिल्लामा फर्केका छैनन् ।
काठमाडौँमा रहेका प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले कार्यालयकै कामले जिल्ला आउन केही ढिलो भएको भएपनि चाँडै फर्कने बताए ।
त्यसैगरी कार्यालय प्रमुख नभएका अन्य सरकारी कार्यालयहरूमा जिल्ला स्वास्थ्य, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय, कृषि विकास बैङ्क, जिल्ला आर्युवेद शाखा, नेपाल टेलिकम, हिल्दुम साना जलविद्युत आयोजना वितरण केन्द्र, जलश्रोत तथा सिञ्चाई सव डिभिजन, सिमकोट हिल्सा सडक आयोजना र जिल्ला निर्वाचन कार्यालय रहेको निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।
यी कार्यालयका प्रमुखहरूले दसैँ अगाडि नै जिल्ला छोडेको भए पनि हालसम्म जिल्लामा नआएको पोखरेलले बताए । कार्यालयका प्रमुखहरू नहुँदा विभिन्न सेवा सुविधा नपाएर सेवाग्राही त्यसै फर्कनु परेको छ ।
कार्यालय प्रमुखकै अनुपस्थितिले गर्दा नयाँ संरचना अनुसार बनेका प्रदेश सरकार अन्र्तगत जिल्लामा स्थापना भएका कार्यालयहरूमा खटिएका कर्मचारीले निकासा आएर पनि तलब भत्ता खान नपाएको गुनासो गरेका छन् ।
त्यसैगरी तिहार सकिएको एक हप्ता भई सक्दा पनि हुम्ला जिल्लाका अधिकांश विद्यालयहरू खुलेका छैनन् । जिल्लाका विद्यालय नखुलेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
हुम्लाको दक्षिणी भेगको सर्केगाड, अदानचुली, ताँजाकोट, चंखेली, खार्पुनाथ र उत्तरी भेगको नाम्खा गाउँपालिकाका सबै विद्यालय र सिमकोट गाउँपालिकाका कर्णाली मावि चौगानफया, कैलाश मावि डाँडाफया, सर्किदेउ प्रावि टुलिग, दोभान प्रावि धारापोरी, सैपाल मावि स्याँडा, बलभद्र प्रावि साँता, कान्ति मावि खोल्सी, रामदेव मावि ठेहे, रलिङ्ग मावि बरगाउँ तथा बालविकास प्रावि हिल्दुम बन्द रहेका छन् ।
सदरमुकाम सिमकोटमा रहेका बालमन्दिर मावि, मानसरोवर मावि, भिमसेन निमावि र कालाशिल्ता प्रावि भने खुलेका छन् ।
खुलेका चार ओटा विद्यालयमा पनि सबै शिक्षकहरू उपस्थित नहुँदा एक घण्टा समेत पढाई नभएर घर फर्कनु परेको बालमन्दिर माविको कक्षा ७ मा अध्यानरत प्रगति शाहीले बताइन् ।
धेरै शिक्षकहरू जिल्ला बाहिरका रहेकाले हवाइजहाजबाट आउजाउ गर्नुपर्ने भएको हुँदा टिकटको समस्याका कारण अहिलेसम्म उपस्थित हुन नसकेको शिक्षा विकास समन्वय इकाईका प्रमुख वर्ष फडेराले प्रतिक्रिया दिए ।