कर्णाली प्रदेशमा सात ओटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । साउन २७ गते प्रेस काउन्सिल नेपालले २०८१ साउन १ गतेदेखि ०८२ असार ३२ गतेसम्म भएका घटनाहरु सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको विवरण अनुसार कर्णालीमा कब्जा अवरोधका एक, धम्की दुर्व्यवहारका चार र कुटपिट आक्रमणका दुई गरी सात ओटा रहेका छन् ।
काउन्सिलका अनुसार देशभर ९४ ओटा प्रेस स्वतन्त्रता हननका घटना घटेका हुन् । एक वर्षमा धम्की/दुर्व्यवहारका ४१, कुटपिट/आक्रमणका २२, पेसागत असुरक्षाका १३, कब्जा/अवरोधका सात र पत्रकार हत्याका एक ओटा घटना प्रेस काउन्सिलमा दर्ता भएका छन् । प्रदेशगत हिसाबले बागमती प्रदेशमा ३८, मधेश प्रदेशमा २५, कोशीमा आठ, गण्डकीमा चार, कर्णालीमा सात, लुम्बिनीमा तीन, सुदूरपश्चिममा आठ र विदेशमा एक घटना भएका छन्। यस अवधिमा १० जना महिला र १ सय ६ जना पुरुष पत्रकार पीडित भएको काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिलका प्रवक्ता दीपक खनालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘अझै पनि धेरै घटना तत्काल दर्ता हुन सकिरहेका छैनन् । पीडित पत्रकारहरूले समयमै उजुरी गर्न नसक्दा यस्ता घटना तथ्यांकमा कम देखिन्छन् ।’ विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सुरक्षा र पत्रकारमाथि हुने आक्रमण रोक्न राज्यका सबै संयन्त्र प्रभावकारी हुनुपर्ने बताइएको छ । काउन्सिलले पत्रकारमाथि हुने दमनका घटनामा छानबिन गरी दोषीलाई कारबाही गर्न, प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि तत्काल कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।