जिल्लाका महिला अधिकारकर्मीहरूले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा बहुविवाहलाई मान्यता दिने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै ०८२ साउन १९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन विधेयक तथा मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न लागेको र त्यसको मस्यौदामा बहुविवाहलाई मान्यता दिने प्रावधान भएको समाचारले हामी महिला अधिकारकर्मीहरूको ध्यानाकर्षण भएको र कानुनको सही कार्यान्वयन नहुँदा महिलाहरू समस्यामा परेको ज्ञापन पत्रमा उल्लेख छ ।

एकातिर महिला र बालिकामाथि बढ्दो हिंसा र अर्कोतिर बहुविवाह समेत गर्न पाउने समाचारमा आएका विषयले महिलाहरू झन हिंसामा पर्ने भएकाले बहुविवाहको विषयप्रति ज्ञापनपत्रमा घोर आपत्ति जनाइएको छ ।
महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालकी संस्थापक अध्यक्ष माया बादे, गैसस महासङ्घकी अध्यक्ष गंगा दोङ, तरङ्गीनि महिला प्रशिक्षण केन्द्रकी निर्मला काफ्ले, माइती नेपालकी गायत्री गौतम, महिला अधिकारकर्मी गीता सुनार, सृजना प्याकुरेल, उषा अर्याल, सरस्वती श्रेष्ठ लगायत दुई दर्जन महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय ध्यानाकर्षण पत्र बुझाएका थिए ।
