छालासम्बन्धी जटिल रोगबाट पीडित सिमकोट गाउँपालिका–७ की ४१ वर्षीया सिरु छत्याललाई इन्सेक प्रतिनिधिको पहलमा असोज ८ गते उद्धार गरी उपचार गराएपछि यतिखेर उनको स्वास्थ्यमा सुधार आएको छ ।
आर्थिक अवस्था कमजोर रहेकी सिरु दुई महिनादेखि उक्त रोगले ग्रसित भई घरमा थला परेकी थिइन् ।
यस विषयमा इन्सेक प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामासमक्ष असोज ३ गतेदेखि नियमित रूपमा उद्धार गर्न अनुरोध गर्दै आएपछि सरोकारवाला निकाय र इन्सेकको समन्वयमा पीडित महिलालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइएको थियो ।
दुई महिनादेखि सो रोगको सङ्क्रमणले थला परेकी छत्यालका पाँच छोरी र एक छोरा रहेका छन् । तर, कुनै पनि छोराछोरी १५ वर्ष भन्दा माथिका नहुँदा छत्यालको उपचार गर्न नसकिएको उनकी छोरी ममता छत्यालले बताएकी थिइन् ।
आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएकी छत्यालले उपचार पाएपछि अहिले हिँड्न, खाना खान सक्ने भएकी छन् ।
घरमै थला परेकी छत्याललाई जिल्ला अस्पताल हुम्लामा पुर्याए लगत्तै उनको उपचार गर्न सुरू गरिएको थियो ।
जिल्ला अस्पतालका डाक्टर टसी लामाका अनुसार यो रोग एक प्रकारको एलर्जी हो । यो छालासम्बन्धी जटिल रोग हो । यो रोगको उपचार हुम्लामा हुन गार्हो भएकाले जिल्ला बाहिर नेपालगञ्जमा रिफर गर्नुपर्छ भने पनि छत्यालको घरको आर्थिक स्थिति कमजोर भएकाले जिल्ला बाहिर नपठाइएको पीडितका पति गणेश छत्यालले बताए ।
उनले भने–‘गाउँपालिकालगायत अन्य सरोकारवाला निकायाले केही मात्रामा आर्थिक सहयोग गरे पनि जिल्ला बाहिर जानका लागि रकम नभएकाले बाहिर जान नसकिएको हो ।’
उपचारका लागि जिल्ला बाहिर लैजान नसकेपछि अन्तमा इन्सेक प्रतिनिधिले पहल गरेको आर्थिकले जिल्ला बाहिरबाट औषधि झिकाई उपचार सफल भएको डाक्टर टसी लामाले बताए ।
पीडित महिलाको उद्धार कार्यमा पहल गरिसकेपछि स्वास्थ्यमा सुधार आएको भन्दै इन्सेक प्रतिनिधि नन्द सिंहलाई प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले धन्यवाद दिएका छन् ।