INSEC Online

📅 २०८३ जेष्ठ २१

एक महिनादेखि स्वाथ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा परेका छन भने स्वास्थ्यचौकीको कार्यलय पनि बन्द छ ।

ठेहे स्वास्थ्य चौकीमा दसैँ भन्दा अगाडिदेखि नै कार्यलयमा कर्मचारी नहुँदा साविकको ठेहे गाविसका १ देखि ६ वडासम्मका स्थानीय वासिन्दालाई समस्या भएको स्थानीयवासी नवराज भण्डारीले बताएका छन् ।

ज्वरो, टाउको दुखेको जस्ता बिरामीहरूको लागि सामान्य औषधिसमेत दिने मान्छे नहुँदा बिरामीहरू मर्कामा परेका हुन् । गाउँ नजिकै रहेको ठेहे स्वास्थ्य चौकीमा उपचारका लागि जाँदा त्यहाँ सिटामोल समेत दिने मान्छे नभएको स्थानीयवासी सुरेश परियारले गुनासो गरे ।

उनले भने–‘स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा हजारौँ बिरामीहरू रित्तो हात लिएर घर फर्कन बाध्य भएका छन् ।’ ठेहे स्वास्थ्य चौकीमा ११ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेता पनि यतिखेर एक जना कार्यालय सहयोगी मात्र रहेको जानकारी प्राप्त भएको छ ।

११ जना स्वास्थ्यकर्मी मध्ये एक जना एचए, दुई जना अहेव, दुई जना अनमी र दुई जना कार्यलय सहयोगी गरेर सात जना स्वास्थ्यकर्मी हुनु पर्ने ठाउँमा एक जना कार्यलय सहयोगी दन्त बोहरा मात्र रहेको ठेहेका स्थानीयले बताएका छन् ।

‘बिरामीहरू उपचारका लागि आउने गर्दछन् तर स्वास्थ्य चौकीमा नत औषधि पाईन्छ नत स्वास्थ्यकर्मी नै भेटिन्छन् ।’–सौँरीकला परियारले बताइन् । सो स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि तीन घण्टाको पैदल हिँडेर जिल्ला अस्पतालमा आएर उपचार गर्नु परेको बिरामी भुवन भण्डारीको गुनासो छ ।

त्यस्तै प्रसूति व्यथा लागेकी महिलालाई झन् समस्या भएको पनि स्थानीय नवराज भण्डारीले बताए ।

आइरन चक्की अतिआवश्यक औषधि भएपनि ठेहे स्वास्थ्य चौकीमा आइरन चक्की दिने स्वास्थ्यकर्मी नै नहुँदा झन् ठुलो समस्या भएको भण्डारीको भनाइ छ । सरकारले सम्पुर्ण अधिकार तथा बजेट स्थानीय तहमा पठाएको छ तर स्थानीय तहले भने स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी पठाउन सकेको छैन ।

जिल्ला अस्पतालमा औषधि र कर्मचारीको अभावकाबारे सिनियर अनमी सरिता बोहरासँग बुझ्दा११ जना कर्मचारीमध्ये सात जना कर्मचारी त अनिवार्य हुनु पर्ने हो तर यतिखेर जिल्ला बाहिर दसैँ विदा लगतै तिहार परेकोले अब तिहारपछि नै उपस्थित हुने बताइन् ।

उनले भनिन्–‘तर, यतिखेर प्राप्त जानकारी अनुसार सो स्वास्थ्य चौकीमा एक जना कार्यलय सहयोगी मात्र रहेका छन् ।’

अहिले बिरामीले तीन घण्टाको पैदल यात्रा गरेर जिल्ला अस्पताल हुम्लामा आउनु पर्ने बाध्यता भएको छ । साविक ठेहे गाविसमा करिव ५ सय घरधुरी छन् ।

अन्य

भिडियो