INSEC Online

📅 २०८३ जेष्ठ २१

छालासम्बन्धी जटिल रोगका पीडितलाई इन्सेकको पहलमा उद्धार

सिमकोट गाउँपालिका–७ की छालासम्बन्धी जटिल रोगबाट पीडित ४१ वर्षीया सिरु छत्याललाई इन्सेक प्रतिनिधिको पहलमा असोज ८ गते उद्धार गरिएको छ ।

आर्थिक अवस्था कमजोर रहेकी सिरु दुई महिनादेखि उक्त रोगले ग्रसित भई घरमा थला परेकी थिइन् ।

यस विषयमा इन्सेक प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामासमक्ष असोज ३ गतेदेखि नियमित रूपमा उद्धार गर्न अनुरोध गर्दै आएका थिए ।

सरोकारवालासँग इन्सेकले निरन्तर पहल गरेपछि उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

दुई महिनादेखि सो रोगको सङ्क्रमणले थला परेकी छत्यालका पाँच छोरी रहेका छन् भने एक छोरा छन् । तर, कुनै पनि छोराछोरी १५ वर्ष भन्दा माथिका नहुँदा उपचारका लागि समस्या भएको उनकी छोरी ममता छत्यालले बताइन् ।

आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएको छत्यलले गुनासो गरिन् । जिल्ला अस्पताल हुम्लामा पुर्‍याए लगतै उनको उपचार गर्न सुरू भएको डक्टर टसी लामाले बताए ।

उनले भने–‘यो एक प्रकारको एलर्जी हो । यो छालासम्वन्धी जटिल रोग हो । यो रोगको उपचार हुम्लामा हुन गार्‍हो भएकाले जिल्ला बाहिर नेपालगञ्जमा रिफर गर्नुपर्छ ।’

पीडितको थप उपचारका लागि छत्यालको घरको आर्थिक अवस्था कमजोर भएकाले अन्य सङ्घसंस्थामा इन्सेक प्रतिनिधिले पहल गरिरहेका छन् । सिरुका पति गणेश छत्यालले भने-‘घरको आर्थिक अवस्था कमजोर भएकाले घरमा राख्न बाध्य भयौ ।’ त्यस्तै एक वर्षीया छोरी करिष्मालाई पनि सो रोग सरेको बुवा गणेशले दुखेसो पोखे ।

पीडित महिलाको उद्धार कार्यमा पहल गरेको भन्दै इन्सेक प्रतिनिधि नन्द सिंहलाई प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले धन्यवाद दिएका छन् । प्रजिअका अनुसार रोग कुष्ठरोग जस्तो देखिन्छ । यस्ता बिरामीलाई निजी संस्थाले सहयोग गर्नु भन्दा पनि नेपालमा कुष्ठरोगसम्बन्धी सम्पूर्ण खर्च र उपचार नेपाल सरकारले नै गर्ने गरेको छ ।

यसको खर्चबर्च पनि गाउँपालिकाले नै गर्नुपर्छ भन्दै गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामालाई प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् । इन्सेक प्रतिनिधिको पहलमा सिमकोट गाउँपालिका, जिल्ला प्रशासन, किर्डाक नेपाल, आधार नेपाल लगायतका संस्थाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अन्य

भिडियो