INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य विमा गरेर पनि पाउँदैनन् बिरामीले औषधि

नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम मार्फत विमा गरेका सेवाग्राहीले समेत जिल्ला अस्पताल सल्लेबाट औषधि पाएका छैनन् ।

स्वास्थ्य विमाबापत २ हजार ५ सय रुपियाँ तिरिसेकपनि औषधि नपाएको मुसिकोट नपा–१ की तुलसा गिरीले बताइन् । ‘बिरामी भइरहने हुँदा औषधि उपचारमा सजिलो होला भनेर विमा गरेकी थिएँ ।’–उनले भनिन्–‘तर, अस्पताल पुग्दा औषधि पाइएन । रित्तो हात फर्किएँ ।’ विमा गरेपनि औषधि मेडिकलमै किन्नुपरेको उनले गुनासो गरिन् ।

त्यस्तै मुसिकोट नगरपालिका–१ कै चन्द्रप्रसाद शर्माले पनि स्वास्थ्य विमा गर्दासमेत औषधि बाहिर किन्नुपरेको गुनासो गरे । वर्षमा ५० हजार रुपियाँसम्म उपचार सेवा पाउने शर्तमा स्वास्थ्य विमा गरेका उनले आफूले चाहेको समयमा उपचार सेवा नपाउँदा दुःख लागेको बताए ।

उनीहरूजस्ता थुप्रै बिरामी स्वास्थ्य विमाको कार्ड गोजीमा राखेर मेडिकलबाट औषधि किन्न बाध्य भएका छन् ।

अस्पताल, स्थानीय तह र स्वास्थ्य विमा बोर्ड यस विषयमा गम्भीर नबन्दा धेरै बिरामीले सास्ती भोग्दै आएका छन् ।

भदौ २५ गतेदेखि बिहान १० बजेअघि, बेलुका ५ बजेपछि, रातिको समय, सार्वजनिक बिदा र शनिबारको दिन जिल्ला अस्पताल आउने जोकोही स्वास्थ्य बिमितले स्वास्थ्य विमा गरेको कार्डका आधारमा औषधि नपाएको गुनासो गरेका छन् ।

जिल्ला अस्पतालले चौबीसै घण्टा फार्मेसीको व्यवस्था गर्न नसक्दा विमितलाई औषधि दिन नसकेको जनाएको छ ।

त्यसअघि अस्पतालले बिहान १० बजेअघि, बेलुकी ५ बजेपछि, शनिबार र सार्वजनिक बिदाका दिन पनि औषधि दिन्थ्यो ।

सजिलोका लागि भन्दै एक निजी मेडिकलसँगको सहकार्यमा अस्पतालले जतिबेला पनि विमितलाई उनीहरूसँग भएको कार्डका आधारमा औषधि दिने गरेको थियो तर अस्पतालले भदौ २५ देखि निजी मेडिकलबाट औषधि ल्याउन पनि बन्द गरिदिएको छ ।

फार्मेसीमा एकजना मात्र कर्मचारी भएकाले चौबीसै घण्टा फार्मेसी सञ्चालन गर्न नसकिएको र त्यसबाट स्वास्थ्य विमितलाई असर परेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सुशील पोखरेलले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ०७४ चैत १ देखि हालसम्म जिल्लाका २२ हजार ७ सय ४८ जनाले स्वास्थ्य विमा गरेका छन् । तीमध्ये जिल्ला अस्पतालबाट हालसम्म ८ सय ५५ जनाले सेवा लिएका छन् । त्यसबापत स्वास्थ्य विमा बोर्डले जिल्ला अस्पताललाई ६ लाख ५४ हजार ४ सय रुपियाँ भुक्तानी गर्नुपर्नेछ ।

अन्य

भिडियो