अज्ञात व्यक्तिले भदौ २६ गते राति सुतिरहेको अवस्थामा फालेको तेजाव लागेर घाइते भएकी चन्द्रपुर नपा–६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासको पैसा अभावका कारण उपचारमा समस्या भएको छ ।
पीडित बालिकाका बुवा जादोलाल दासले पैसा अभावमा छोरीहरूको उपचारमा समस्या आएको बताए । “अलिअलि पैसा थियो सकियो”–उनले भने–“अस्पतालको बेडमा छोरी छन् । पैसा नभएर म निकै निराश छु ।”
घाइते सम्झनाको आँखा हात र छातिमा चोट लागेको छ । बहिनी सुस्मिताको भने हात र शरीरमा चोट लागेको छ । उनीहरूको उपचार काठमाडौँस्थित किर्तिपुर अस्पतालमा भइरहेको छ ।
पैसाको अभावका कारण उपचारमा समस्या आएपछि चन्द्रपुरमा सहयोग जुटाउन थालिएको छ । अस्पतालमा उपचारको क्रमाम दैनिक १५ हजार रुपियाँ लाग्ने गरेको पीडितका बावु जादोलाल दासले बताए ।
घटनामा संलग्न दोषीलाई प्रहरीले गिरफ्तार गर्न सकेको छैन । प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी युवराज खडकाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।