INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा दुई महिनादेखि नाभी मल्हम अभाव 

जिल्ला अस्पताल खाँदबारीमा भदौ २४ गते चैनपुर–४ की ३२ वर्षीया शर्मिला राई सुत्केरी भइन् । तर, दुई दिन बितिसक्दा समेत बच्चालाई नाभी मल्हम नलगाइएको उनका पति मनकुमार लिम्बूले बताए । लिम्बूले नाभी मल्हमका विषयमा अस्पतालका चिकित्सकसँग बुझ्दा नाभी मल्हम नभएकाले प्रयोग नगरेको जबाफ दिए ।

सोही दिन सुत्केरी भएकी सभापोखरी–१ की २५ वर्षीया दीपा राईले पनि शिशुको नाभीमा मल्हम लगाएकी छैनन् । अस्पतालमा औसतमा दैनिक पाँच जना सुत्केरी हुन्छन् । तर, दुई महिनादेखि जिल्ला अस्पतालमा जन्मिएका शिशुको नाभीमा नाभी मल्हम लगाइएको छैन ।

अस्पतालमा दुई महिनादेखि शिशु जन्मिने बित्तिकै लगाउने नाभी मल्हमको अभाव छ । सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने नाभी मल्हम जिल्ला अस्पतालमै अभाव देखिएको हो ।

एक गैरसरकारी संस्थाले उपलब्ध गराउँदै आएको नाभी मल्हम यस वर्षदेखि नेपाल सरकारले उपलब्ध गराउने भनिए पनि हालसम्म उपलब्ध नगराएको अस्पतालका निमित्त प्रमुख लक्ष्मण खड्काले बताए । उनले जिल्ला अस्पतालमा जन्मिएका शिशुको नाभीमा नाभी मल्हम दुई महिनादेखि नलगाइएको स्वीकार गरे ।

प्रमुख खड्काले भने–‘क्षेत्र र केन्द्रमध्ये कसले उपलब्ध गराउने भन्ने अन्यौल भएकाले अस्पतालमा मल्हम अभाव भएको हो ।’ मल्हम आपूर्तिका लागि पहल भइरहेकाले चाँडै उपलब्ध हुने खड्काको भनाइ छ ।

यसरी बच्चा जन्मने बित्तिकै पाउने अधिकार समेत उनीहरूले नपाउँदा संविधानको भाग तीन धारा ३५ मा उल्लेख गरिएको अधिकार कुण्ठित भएको छ । संविधानको भाग तीन धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा बाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ । उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनिएको छ ।

अन्य

भिडियो