INSEC Online

📅 २०८३ जेष्ठ २१

शिशु हत्या घटनाको अनुगमनका लागि आयोगको टोली पीडितको घरमा

शिशु हत्याका अभियुक्तलाई प्रहरीले गिरफ्तार गर्न नसकेपछि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोलीले हत्या घटनामा चासो बढाएको छ ।

आयोगको टोली महोत्तरीको औरहीकी आठ महिने बालिका सोनाली चौधरी हत्याको यथार्थ बुझ्न पीडित परिवारको घरमा पुगेको हो ।

आयोगका प्रदेश २ प्रमुख वीरबहादुर बुढामगर र मानव अधिकार अधिकृत दीप यादवको टोली घटना छानविनका लागि औरही पुगेको हो ।

बालिकाको भदौ १० गते अपहरणपछि हत्या गरेको घटना भएपनि ९ दिन बित्दासमेत आरोपित गिरफ्तार गर्न नसकिएको प्रहरीले जनायो । घटनाको सत्य तथ्य बुझ्न आयोगको टोलीले महोत्तरीका प्रहरी प्रशासनसँग पनि भेटघाट गरेको छ ।

टोलीले पीडित बालिकाका हजुरबुवा रामचन्द्र चौधरी, औरही नगरपालिकाका प्रशासकीय अधिकृत बासु काफ्ले, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्की र सीडीओ उमेश ढकालसँग घटनाको सत्यतथ्य, दोषी गिरफ्तार गर्न नसक्नुको कारण, गिरफ्तार गर्न गरिएको प्रयासबारे जानकारी लिएका थिए ।

‘८ महिने बच्चीको अपहरण, बलात्कार र हत्या भएको स्थानीयले हामीलाई जानकारी दिएका छन् ।’– मानव अधिकार आयोगका अधिकृत यादवले भने–‘घटना अनौठो खालको छ । हामीले सुरूदेखि नै गम्भीर भएर घटनाबारे चासोका साथ काम गरिरहेका छौँ ।

प्रहरी प्रशासनले दोषी गिरफ्तार गर्न नेपाल र भारतमा विशेष टोली खटाएको जबाफ आएको उनले बताए । प्रहरीले बालिकाको बलात्कार भएकोबारे आयोगको टोलीलाई खुलाएको छैन । ‘हामीले प्रहरीसँग पोष्टमार्टम रिपोर्ट माग्यौँ । तर, प्रहरीले हस्पिटलबाट नआएकाले जबाफ दिएको छ ।’–आयोगका अधिकृत यादवले भने ।

भदौ १० गते औरही बजारस्थित आफ्नै पसलमा आमाको काखमा खेल्दै गरेकी बालिकाको अपहरण भएको थियो । भदौ ११ गते उनको शव आँपबारीमा फेला परेको थियो ।

अन्य

भिडियो