मुसीकोट नगरपालिका–१४ लोरीवाङका ३६ वर्षीय शङ्कर विष्टले हसियाले काटेर आफ्नै छोरा र भाइको हत्या गरेका छन् ।
आरोपितले ६ वर्षीय कान्छो छोरा सुदर्शन विष्ट र हातगोडा नचल्ने अपाङ्गता भएका १७ वर्षीय भाइ गोकर्ण विष्टलाई साउन ३० गते बिहान हसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हसिया प्रहारबाट १३ वर्षीय जेठो छोरा प्रकाशसिंह विष्ट र नौ वर्षीय माइलो छोरा दिनेश विष्टलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिए ।
शङ्करको मानसिक अवस्था समेत ठीक नभएकोले यस्तो घटना भएको उनले बताए । तीन दिनसम्म लगातार घरमा सुतिरहेको र ३० गते बिहान आफू पानी लिन गएको र बुहारी घाँस काट्न गएको बेला एक्कासी उठेर अन्धाधुन्ध हँसिया प्रहार गरेर आफ्ना छोरा नातीको हत्या गरेको शङ्करका बुवा चक्रबहादुर विष्टले बताए ।
उनले आफै माथि पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अस्पतालमा उपचारपछि ३० गते नै प्रहरी हिरासतमा राखिएको छ ।
उनको टाउकोमा पाँचवटा टाँका लगाइएको डिएसपी खड्काले बताए । घाइते दुई छोराहरूको घाँटी, कानलगायत शरीरका विभिन्न ठाउँमा काटिएको छ । उनीहरूको प्रारम्भिक उपचार जिल्ला अस्पताल सल्लेमा गरेपछि नेपालगञ्ज रिफर गरी पठाएको जनाइएको छ ।