ज्यान मुद्दाको आरोपमा अदालतमा आत्मसमर्पण गर्न पुगेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा जिल्ला अदालतको आदेशमा साधारण तारेखमा छुटेका छन् ।
अदालतमा साउन २८ गते हाजिर भई बयान दिएका शर्मा थुनछेक बहसपछि साउन २८ गते नै साधारण तारेखमा छुटेका हुन् । थुनछेक बहसपछि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्माको हत्याको आरोप लागेका शर्मा साउन २८ गते जिल्ला अदालत महोत्तरीमा हाजिर भएका थिए । प्रहरीको फरार सूचीमा रहेका बेला राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा चुनाव जितेका उनी हालै मात्र प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।
उच्च अदालत जनकपुरले शर्मालाई गिरफ्तार गर्न आदेश दिएपछि उनी साउन २८ गते आफैँ अदालतमा हाजिर भएका हुन् । सोमबार अदालतमा राज्यमन्त्री शर्माको तर्फबाट अधिवक्ताहरू रमेशकुमार पाण्डेय, देवेन्द्र ठाकुर र ज्ञानेन्द्रलाल कर्णले बहस गरेका थिए ।
थमन बिक हत्याका २८ आरोपितमध्ये तीन जनालाई प्रहरीले यसअघि नै गिरफ्तार गरेको थियो । उनीहरूमध्ये मोहन ठाकुर हाल तारेखमा छन् भने दुईजना पुर्पक्षको लागि थुनामा छन् ।
यो मुद्दाका अर्का आरोपित रामशङ्कर मिश्र जलेश्वर नगरपालिकाका मेयरमा र कौशलकुमार राय प्रदेशसभा सदस्य पदमा निर्वाचित भई कार्यरत छन् । उनीहरूसँगै अन्य आरोपित पनि गिरफ्तार भएका छैनन् ।