INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय स्वास्थ्य चौकीमा औषधिको अभाव हुदा सेवाग्राही मर्कामा

स्थानीय तहले समयमा औषधिको खरिद गरी स्थानीय स्वास्थ्य संस्थामा पठाउन नसक्दा स्थानीय तहका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मर्कामा परेका छन् ।

स्थानीय स्वास्थ्य चौकीमा सानो परिमाणमा औषधि पठाउने र छिट्टै सकिने गरेको कारण बिरामीहरूको उपचारमा समस्या हुने गरेको सेवाग्राही र स्वास्थ्य संस्थाका अधिकारीहरूले गुनासो गरेका छन् ।

भूमिकास्थान नपा–४ की मञ्जु भाटले सेवा लिन स्वास्थ्य संस्थामा जाँदा निशुल्क पाउने औषधि नपाएको आरोप लगाएकी छने । सामान्य रुघाखोकीको लागि सिटामोल भए पनि अन्य औषधि नपाएको उनको गुनासो छ ।

सोही ठाउँका ओमबहादुर केसीले पनि उपचार गर्न स्वास्थ्य संस्था जाँदा निशुल्क पाउने औषधि नभएका कारण अन्य ठाउँमा उपचार गर्न जानु परेको गुनासो गरे । ‘धेरै प्रकारका औषधि निशुल्क पाइन्छ भन्ने सुने पनि सबै औषधि नपाएका कारण औषधि उपचारका लागि बाहिर जानुप¥यो ।’–उनले भने ।

महिला स्वास्थ्य स्वयम्सेविका मधु बञ्जाडेले भनिन्–‘धेरै बिरामीहरूलाई स्वास्थ्य संस्थामा गएर उपचार गराउनु भनी पठाए पनि स्वास्थ्य संस्थामा निशुल्क पाउने औषधि नपाएपछि सेवाग्राही अन्य ठाउँमा जानुपरेकोले स्वास्थ्य संस्थाको विश्वासनीयता समेत घटेको छ ।’ नगरपालिका र स्वास्थ्य संस्थाको कमजोरीका कारण बिरामीले समस्या व्यहोर्नुपरेको उनले बताइन् ।

सरकारले स्वास्थ्यचौकीमा ३८ प्रकारका औषधिहरू निशुल्क पाउनुपर्ने नीतिगत व्यवस्था गरेको भएपनि अधिकांश स्वास्थ्य चौकीमा अत्याआवश्यक औषधिको समेत ‘स्टक’ खाली हुनेगरेको छ ।

इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाल उक्त स्वास्थ्य चौकीमा पुग्दा २० प्रकारका औषधि मात्रै उपलब्ध थिए भने म्याद सकिएका औषधि समेत भेटिएका थिए ।

स्वास्थ्य संस्थामा सरकारले निशुल्क उपलब्ध गराउने भनी तोकिदिएका औषधिका प्रकारहरूको नाम सेवाग्राहीले देखिने गरी राख्नुपर्ने भनिए सो समेत उपलब्ध छैन । साथै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सुविधाको बारेमा जानकारी प्राप्त हुने नागरिक वडापत्र समेत स्वास्थ्य संस्थामा राखिएको छैन ।

स्वास्थ्य चौकीमा पटकपटक औषधिको अभाव भइरहेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय तह, नगरपालिकाले समयमा औषधि खरिद नगरेको र नपठाएका कारण औषधिको अभाव भएको स्वास्थ्य चौकीका प्रमुख ज्ञानबहादुर पुनले बताए ।

भुमिकास्थान नगरपालिका नगर कार्यपालिका सदस्य तथा वडा अध्यक्ष बाबुराम सुनारले स्थानीय तहको पहिलो अभ्यास भएकाले धेरै विषयमा समस्या भएको बताए । नगरपालिकाले खरिद प्रक्रिया समयमा गर्न नसकेकाले स्वास्थ्य चौकीमा औषधिको समस्या भएको बताए । यो समस्यालाई यहि वर्षबाटै समाधन गर्ने प्रयास गर्ने उनको भनाइ थियो ।

अन्य

भिडियो