INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई महिनादेखि स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही प्रभावित

र्सर्केगार्ड स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधि अभाव हुँदा सेवाग्राही प्रभावित भएका छन् । उक्त स्वास्थ्य चौकीमा मेट्रो, सिटामोल, एसिलक, अल्वेन्डाजोल, स्काविज लोसन र भिटामिन दुई महिनादेखि सकिएको स्वाथ्य चौकीका इञ्चार्ज सन्तोष गुमीले जानकारी दिए ।

‘स्वास्थ्य चौकीमा न औषधि छ, न स्वास्थ्यकर्मी नै!’-सर्केगार्ड गाउँपालिका-३ उनापानीकी जुनकली सार्कीले गुनासो गरिन् । उनले भनिन्-‘बिरामी भएर स्वास्थ्य चौकी धाउन थालेको एक हप्ता भयो । स्वास्थ्य चौकीमा न औषधि छ न स्वास्थ्यकर्मी नै !’

सदरमुकाम सिमकोटबाट ५२ कोष टाढा रहेको दुर्गम क्षेत्रका बिरामी सिटामोल समेत नपाउँदा रित्तो हात फर्कन बाध्य भएका हुन् । उपचार नपाएर फर्केको चङ्खेली गाउँपालिका-२ गर्खाकी महिला स्वास्थ्य स्वयम्सेवक लक्ष्मी कौरा शाहीले पनि यस्तै गुनासो गरिन् । उनी भन्छिन्-‘स्वयम सेविकाको रूपमा काम गर्दै आएपनि आफै बिरामी हुँदा सिटामोलसमेत पाइँन ।”

बिरामी भएर उनी लगातार चार दिनसम्म दार्मा स्वास्थ्य चौकी गइन् । तर, दार्मा स्वास्थ्य चौकीले सिटामोलसम्म दिन नसक्दा घरैमा उपलब्ध हुने तितो पकाएर खाएपछि रुघा सञ्चो भएको उनले बताइन् ।

ताँजाकोट गाउँपालिका-३ मासपुरका ६५ जना रुघाखोकीले एक महिनादेखि बिरामी भएका छन् । टाउको दुखेका बेला उनीहरू स्थानीय जातको खुर्सानी पिसेर निधारमा लगाउने गर्छन्, ज्वरो आएका बेला तितो (स्थानीय जडीबुटी) खाने गर्छन् । विकट मासपुरमा रुघाखोकी सहितका अन्य रोगले पीडित बनेका करिब १ हजार २ जना बिरामी छन् । हुम्लाका अधिकांश स्वास्थ्य चौकीबाट सर्वसाधारण निःशुल्क औषधि पाउनबाट वञ्चित छन् ।

स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालयले खरिद गरी स्थानीय स्वास्थ्य संस्थामा आउने औषधि समयमा नपठाउँदा हुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । जिल्लाले औषधि खरिदका लागि गाउँपालिकालाई रकम निकासा पठाएको भन्दै पन्छिएपछि आफ्नो स्वास्थ्य संस्थामा औषधि अभाव रहेको दार्मा स्वास्थ्य संस्थाकी अनमी करुणा मल्लले बताइन् ।

आफू काम गर्ने स्वास्थ्य संस्थामा सामान्य ग्लोव पनि नभएको जनाउँदै मल्लले भनिन्-‘नत केन्द्रको औषधि आएको छ । न गाउँपालिकाको औषधि नै ! यो अवस्थामा बिरामी मर्कामा परेका छन् ।’

ग्रामीण स्वास्थ्य संस्थामा सरकारले प्रदान गर्ने निःशुल्क औषधि सिटामोलसम्म नहुँदा आफूले रुघाखोकी लाग्दा स्थानीय जडीबुटीले काम चलाएको अदानुचुली-१ का प्रेमबहादुर महताराले जानकारी दिए ।

स्वास्थ्य राज्यमन्त्रीको औषधि अभाव हुन नदिने वाचातर्फइङ्गित गर्दै बोहराले भने-‘हामीलाई न उपचार गर्ने राम्रा स्वास्थ्य संस्था छन् । नत नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी बस्छन् । न स्वास्थ्य संस्थामा पर्याप्त औषधि नै छ ।’

अदानचुली गाउँपालिका-६ पाल्स ओखाडीकी प्याउका रोकायाले कालिकाको बारिगाउँस्थित स्वास्थ्य चौकीमा जाँदा सिटामोलसमेत नपाएको बताइन् । सामान्य रुघाखोकीको औषधि निजी क्लिनिकबाट किन्दा ९ सय ५ रुपियाँ खर्च भएको जनाउँदै प्याउकाले सामान्य बिरामी पर्दासमेत स्वास्थ्य संस्थामा औषधि नपाइने गुनासो गरिन् ।

उनले भनिन्-‘मेडिकल नजिक नभएपछि उपचार नपाएरै ज्यान जाला भन्ने डर लागेको छ ।’ कालिका स्वास्थ्य चौकीका इञ्चार्ज मोहनसिंह घर्तीका अनुसार गाउँका केही स्वास्थ्य चौकीमा सिटामोल र एमोक्सीलिन मात्रै पाइन्छ । प्रायः स्वास्थ्य संस्थामा औषधि मौज्दात शून्य हुँदा बिरामी सास्ती भोग्न बाध्य छन् ।

स्वास्थ्य संस्थामा औषधि नहुँदा आफूले स्वास्थ्य संस्था नै बन्द गर्नुपरेको श्रीनगर इलाका स्वास्थ्य चौकीकी अनमी पुष्पादेवी कानुले बताइन् ।

‘गाउँका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।’-जिल्ला स्वास्थ्य प्रमुख डा.रञ्जितकुमार यादवले भने-‘केन्द्रले पठाउने ७० प्रतिशत र क्षेत्रले पठाउने २० प्रतिशत औषधि नआउँदा समस्या भएको हो ।’

अघिल्लो वर्षजिल्ला स्वास्थ्य कार्यालयले १० प्रतिशत औषधि बराबरको रकम सबै गाउँपालिकालाई भुक्तानी दिएको यादवले जानकारी दिए । विभाग नेतृत्वविहीन हुँदा समस्या आएको उनले बताए ।

अन्य

भिडियो