कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारी तयारीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा जेठ १४ गते सुनुवाइ हुने भएको छ ।
न्यायाधीश चोलेन्द्रशम्शेर राणा र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा आज सुनुवाइ तय भएपनि न्यायाधीश कार्कीले पीडितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले सो मुद्दामा फैसला गर्न नमिल्ने उल्लेख गरेपछि मुद्दामाथि सुनुवाइ नभइ जेठ १४ गतेका लागि पेशी तोकिएको रिट दायरवाला वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले बताए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले ढुङ्गेलाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने सरकारी तयारीलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा जेठ ९ गते रिट निवेदन दायर गरेका थिए ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले जेठ १० गते ढुङ्गेललाई माफी दिनुपर्ने कारणसहित २४ घन्टाभित्र दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो ।