INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा औषधिको अभाव, ऋण खोजेर बिरामीलाई हेलिकप्टरद्वारा उद्धार

सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा तीन महिनादेखि औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । सो स्वास्थ्य चौकीमा सिटामोल, हाइब्रो अल्वेन्डाजोल, डिब्लु प्रोल्विन, डिब्लोफ्ल्याल्क्स, एसिलोफ्ल्याक्सलगायतका औषधि नभएपछि स्थानीयबासी मर्कामा परेका हुन् ।

Photo20180521Humla

सर्केगाड गाउँपालिका-१ जैरकी ४० वर्षीया चुना बुमी जेठ ५ गतेदेखि पेट दुख्ने समस्याबाट पीडित भएकी थिइन् । बिरामी भएपछि उनलाई उपचारका लागि परिवारले सो स्वास्थ्य चौकीमा पुर्‍याए । उक्त स्वास्थ्य संस्थाले औषधि नभएको भन्दै जिल्ला अस्पतालमा रिफर गरेको चुनाका आफन्त चक्र बुमीले बताए ।

उनले भने-‘हुम्लामा सडक सञ्जालले नछोएको हुँदा बिरामी बोकेर जिल्ला अस्पताल पुग्न करिब चार दिन लाग्छ । बिरामीलाई बाटोमा समस्या हुन सक्ने डरले ५० हजार रुपियाँ तिरेर सानो फिस्टेल हेलिकप्टरबाट जेठ ६ गते जिल्ला अस्पताल पुर्‍याइयो ।’

‘एक रुपियाँ नभएको अवस्थामा बुहारी बिरामी भएपछि गाउँका छरछिमेकीसँग सापट मागेर हेलिकप्टर चार्टर गर्न बाध्य भएँ । यति नगरेको भए बुहारीको ज्यानै जान सक्थ्यो ।’-उनले भने ।

दुई वर्षदेखि कम्मर दुख्ने र हिँड्न समेत गाह्रो हुने गरेका सोही ठाउँका ३२ वर्षीय जस्या दमाईको पनि त्यस्तै समस्या छ । बिहान र बेलुकाको छाक टार्नका लागि धौधौ भएका दमाई यतिखेर जैर स्वास्थ्य चौकीमा औषधि नपाएपछि घरमा रोग पालेर बस्न बाध्य भएका छन् ।

जिल्ला अस्पताल कुन ठाउँमा औषधि छ वा छैन भन्ने विषयमा मौन छ । सर्केगाड गाउँपालिकाले ८ लाख रुपियाँ बराबरको औषधि खरिद गरेको भएपनि स्वास्थ्य संस्थामा औषधि नदेखिएको बुमीले गुनासो गरे ।

सर्केगाड गाउँपालिकाका निमित्त स्वास्थ्य संयोजक धनबहादुर बोहोराका अनुसार उक्त स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । गाउँपालिकाका प्रमुख र उपप्रमुखको रोहवरमा तत्काल औषधि पठाइने उनले प्रतिबद्धता जनाए ।

स्वास्थ्य चौकीका इञ्जार्च देवनारायण चौधरीले चुनालाई एपेण्डिसाइड भएको शङ्का गरियो । उक्त रोगको शल्यक्रिया गर्ने स्रोत साधन र जनशक्ति नहुँदा जिल्ला अस्पतालमा रिफर गरिएको बताए ।

अन्य

भिडियो