दमक नपा-७ का वडाध्यक्ष ५२ वर्षीय भिमप्रसाद पौडेलको घरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले जेठ ६ गते राति बम विष्फोट गराउँदा दुई जना सर्वसाधारण घाइते भएका छन् ।
राति ८ः३० बजे वडाध्यक्षको घरको मुल गेटमा ठुलो आवाजमा बम विष्फोट भएपछि घर अगाडिको बाटोमा हिँड्दै गरेका एक दम्पति घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय तिलोचन पोखरेल र श्यामकुमारी राई पोखरेल रहेका छन् ।
तिलोचनको दाहिने तिघ्रामा र श्यामकुमारीको दाहिने गोडाका औँलाहरूमा बमको छर्रा लागेर चोट लागेको छ । घाइते दुवै जनाको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भइरहेको छ ।
केहि दिन अघि दमक नगरपालिकाको कार्यालयले दमक नपा-७ मा अवस्थित २५ घर सुकुमवासीहरूको घर सरकारी जग्गामा बनेको भन्दै डोजर लगाएर भत्काएपछि सो पार्टीका वडाध्यक्ष पौडेलको घरमा यसरी विष्फोटन गराएको स्थानीयले आरोप लगाएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपक गिरीले बताएका छन् ।