INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक द्वन्द्वले गाउँ नै आतङ्कित, विकास निर्माणका काम ठप्प

गौमुल गाउँपालिका अन्तर्गत रहेका ४ र ५ नम्बर वडा विगत चार वर्षदेखि राजनीतिक द्वन्द्वमा परिणत भएको छ ।

काङ्ग्रेस र एमाले कार्यकर्ताहरूबिच उत्पन्न विवादका कारण गौमुल गाउँपालिकाका ४ र ५ नम्बर वडामा द्वन्द्व उत्पन्न भएपछि यहाँका बासिन्दा आतङ्कित बन्दै आएका छन् ।

‘०७० सालको चुनाव अगाडि सो क्षेत्रमा शान्ति थियो । ०७० सालको पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भएपश्चात यस क्षेत्रमा विभिन्न बाहानामा राजनीतिक झगडा सुरू भएको छ । किर्तीचौर उमाविको व्यवस्थापनको विवादलाई लिएर दुई वर्षअगाडि एमाले र काङ्ग्रेस समर्थकबिच  झडप हुँदा दुवै पक्षका केही घाइते भए । ०७४ पुस ५ गते भुवा पर्वको दिनमा डाँडाबाडामा भुवा मेलामा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच पुनः झडप भयो । ०७४ चैत २ गते राति सोही वडाको किर्तीचौर उमावि नजिक दुवै पक्षबिच झडप भयो । यसरी पटकपटक गाउँमा घटना हुँदै आएपछि अहिले पुरै गाउँ नै त्रसित भएको छ ।’-गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले भने ।

एमाले र काङ्ग्रेस कार्यकर्ताबिच निरन्तर रूपमा आक्रमणका घटनाहरू बढ्न थालेपछि गाउँका सर्वसाधारण नागरिकहरूले शान्तिपुर्वक बाँच्न पाउने अधिकार कुण्ठित भएको भन्ने जनगुनासो आएपछि गाउँमा आफूहरूले निरन्तर रूपमा गस्ती गर्ने गरेको जिल्ला प्रहरी कार्यलय, बाजुराका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

०७० सालको निर्वाचन पश्चात सहदोर दाजुभाइहरूबिच समेत फाटो आई बोलचालसम्म नहुने गरेको स्थानीय जनक रोकायाले बताए । राजनीतिक द्वन्द्वका कारण गौमुल गाउँपालिका-४ बगर गाउँका ज्ञानबहादुर रोकाय र प्रेम रोकायाले बुवाको मृत्युपश्चात वाषिर्की र श्राद्धसमेत फरकफरक तरिकाले गर्दै आएका छन् । ज्ञानबहादुर रोकाया काङ्ग्रेस समर्थक हुन भने प्रेमबहादुर रोकाया एमाले समर्थक हुन् ।

सोही वडाका अध्यक्ष बिरेन्द्र रोकाया र भतिजा भुपाल रोकायाबिच समेत दुई वर्षदेखि बोलचाल बन्द भएको छ । बिरेन्द्र एमालेबाट बिजयी प्रतिनिधि हुन् भने भुपाल काङ्ग्रेस समर्थक हुन् । ‘स्थानीय तहको निर्वाचन हुनु भन्दा पहिला हामी दुवै जनाबिच राम्रै थियो । जब पार्टीको कारणले गाउँमा झगडा सुरू भयो । त्यपछि आफूहरूबिच बोलचालसमेत बन्द भयो ।’-भुपाल रोकायाले भने ।

यस गाउँमा मष्टा, धलपुरो, लागो देउता, दसैँलगायतका चार्डपर्व समेत पार्टी अनुसार फरकफरक मान्ने गर्छन् । सहोदर दाजुभाइहरू समेत आआफ्नो समर्थकको पार्टीको पुजा र चार्डपर्वमा जाने गरेका छन् ।

यहाँका ४२ घर दलित परिवारहरूले निर्वाचनको समयमा आफूहरूले भने अनुसार मत नदिएको आरोपमा आक्रमण हुँदै आएपछि उनीहरू भयभित वातावरणमा बस्दै आएका छन् । काङ्ग्रेस र एमालेबिच पटकपटक हुँदै आएको राजनीतिक द्वन्द्वका कारण आफूहरूले समेत गम्भीर रूपमा कुटाई खानु परेको र अहिले पनि एक्लो हिँडडुल गर्न नसकिने अवस्था रहेको स्थानीय दलितहरूले दुखेसो गरेका छन् ।

‘पार्टी बिच उत्पन्न विवादका कारण डर त्रास उत्पन्न भएको छ । बेलुकी ६ बजे नै खाना खाएर ढोका बन्द गर्नु पर्ने अवस्था छ ।’-दलित महिला सदस्य बेलु कामीले गुनासो गरिन् ।

पार्टीकै द्वन्द्वका कारण वनजङ्गल पनि जान निकै ग्राहो भएको आइती बिकले बताइन् । ‘हामी मात्र होइन हाम्रा बालबालिकासमेत त्रसित छन् । विद्यालय जान समेत मान्दैनन् । राति चर्पीमा जान नसकेर ड्रम काटेर त्यहि दिशापिसाव गर्ने गरेको छौँ । चर्पी अलि टाढा रहेका छन् । कतै कुटपिट गर्ने हुन कि भनेर घर भित्रै दिशापिसाव गर्ने गरेका छौँ ।’-अइती बिकले गुनासो गरिन् ।

पटकपटक दलित माथि आक्रमण गर्दै आएपछि गाउँमा दलित समुदाय बस्न नसक्ने अवस्था सिर्जना भएको दलित अधिकारकर्मी काशि बिकले बताए । उपल्लो जातको झगडाले दलित र गरिब चपेटामा परेको जिल्लास्थित मानव अधिकारकर्मीको निर्ष्कष समेत रहेको छ ।

दुवै पार्टीका कार्यकर्ताहरूलाई मिलाउनका लागि पटकपटक प्रयास गरिएको भए पनि उनीहरूको आआफ्नो अडानका कारण असफल हुँदै आएको गाउँपालिकाका अध्यक्ष हरि रोकायाले जानकारी गराए  ।

गाउँपालिकाको ५ नम्बर वडाको वडा कार्यलय भवन निर्माण, दोस्रो थारखोला लघु जलविद्युत निर्माण भइरहेकेा भए पनि काङ्ग्रेस र एमाले फरकफरक तरिकाले प्रस्तुत हुँदै आएकाले योजना सम्पन्न गर्न समस्या भएको आयोजनाका अध्यक्ष कर्णबहादुर बुढाले बताए । सामान्य कामदेखि ठुला आयोजना समेत चरम राजनीतिक द्वन्द्वका कारण प्रभाबित भएका छन् ।

अन्य

भिडियो