जिल्ला अदालत पाँचथरले पत्नी हत्याका आरोपित फिदिम नपा-३ का ६१ वर्षीय डिकबहादुर सुनुवारलाई १० वर्षको कैद फैसला सुनाएको छ ।
४२ वर्षीया पत्नी गङ्गामाया मुखियालाई ०७४ फागुन ५ गते हत्या गरेको कसुरमा सुनुवारलाई वैशाख ३० गते न्यायाधीश मनोज केसीको इजलासले सो फैसला सुनाएको हो ।
मुलुकी ऐन महल १० ज्यानसम्बन्धीको १४ नं.को व्यवस्था अनुसार कसुरदार विरूद्ध सो फैसला गरिएको अदालतले जनाएको छ ।
पीडितका आफन्त अगमबहादुर मुखियाको उजुरीले ०७४ चैत ७ गते उनी विरूद्ध जिल्ला अदालतमा दायर भएको मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले पूर्पक्षमा राख्न आदेश दिएको थियो ।
मुद्दाको पहिलो पटक चढेको पेशीमाथि केसीको इजलासले सो फैसला गरेको हो । मुद्दाको फैसला अनुसार कसुरदारलाई जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन जबेगुले बताए ।
पीडित पक्षको उजुरीका आधारमा फागुन २० गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडितको शव सोही दिन घर नजिकैको बारीमा गाडिएको अवस्थामा फेला परेको थियो । शवको पोष्टमार्टम फागुन २१ गते जिल्ला अस्पताल पाँचथरमा भएको थियो ।