भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव देखिएको छ । अतिआवश्यक औषधिहरू समयमा खरिद हुन नसक्दा औषधि अभाव देखिएको हो ।
गाउँपालिका भित्रका नौ वटै वडाका स्वास्थ्यचौकीमा अत्यावश्यक औषधि नभएपछि सेवाग्राही मारमा परेका छन् । गर्मीयाममा बढी जसो झाडापखालाका बिरामी आउने गरेको भएपनि औषधि नभएपछि सदरमुकामलगायत ठुला सुविधा सम्पन्न शहरहरूमा लानुपर्ने अवस्था बनेको सेवाग्राहीको गुनासो छ ।
बिरामीलाई सामान्य टाउको दुख्दा दिइने सिटामोलसम्म स्वास्थ्य संस्थामा नभएको इलाका स्वास्थ्य चौकी अन्नपुर्णका प्रमुख दानप्रसाद राईले बताए ।
सबै स्वास्थ्य संस्थाहरूमा महिलाहरूको लागि चाहिने आइरन चक्कीसमेत नभएपछि सदरमुकामलगायत सुविधासम्पन्न शहरहरूमा जानुपर्ने बाध्यता बनेको कोट स्वास्थ्य चौकीका प्रमुख गणेश राईले बताए । औषधि नभएपछि सेवाग्राही प्रत्यक्ष मारमा परेको उनले बताए ।
नौ वटा वडा रहेको गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएपनि खरिद गरिएको छैन । गाउँपालिकाले अत्यावश्यक औषधि खरिद नगर्दा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा देखिएको औषधि अभावलाई चाँडै निराकरण गरिने टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो । औषधि खरिदका लागि तयारी भएको उहाँले बताउनुभयो ।