INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यवसायिक उद्दमशीलता विकासका लागि प्रदेस सरकार प्रतिबद्ध : पटेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश  तथा जनकपुरधाम उद्योग वाणिञ्य संघको संयुक्त आयोजनामा जनकपुरमा ०८३ जेठ ११ गते सम्पन्न आयोजित व्यवसाय र मावन अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा व्यवसाय र उद्दमशीलता विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलले बताउनु भयो । उहाँले व्यवसायीले स्वतन्त्र रुपमा व्यापार गर्न पाउनुपर्छ भन्दै गुणस्तरहीन वस्तु विक्री गर्ने तथा उपभोक्तामाथि अन्याय गर्ने व्यवसायीमाथि कारबाही गर्नु उद्योग वाणिज्य संघ र सम्बन्धित निकायको दायित्व भएको बताउनु भयो । साथै व्यवसायमैत्री वातावरण निर्माण गर्दै मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकारले आवश्यक पहल, सहकार्य र नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। । दर्ता गरिएको आधिकारीक र दर्ता नगरिएका अनाधिकारिक व्यवसायीहरुको अन्तरद्वन्द्वले व्यापारिक वातावरण बिग्रिएकोले दुवै पक्ष यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । साथै गुणस्तरीय सेवा प्रदान गर्नु व्यवसायिक दायित्व रहेको औल्याउनुभयो । व्यापारिक क्षेत्रमा आफ्नो योगदान दिने र बढी कर तिरेका व्यापारीलाई प्रोत्साहित गर्दै पुरस्कृत गर्ने नीति बनाइने मन्त्री पटेलले बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले व्यवसाय र मानव अधिकारको अवधारणाबारे प्रस्तुतीकरण राख्दै राज्यको भूमिका, व्यवसायिक प्रतिष्ठानको दायित्व र नागरिकको अधिकार एकअर्कासँग गाँसिएको विषय भएको बताउनुभयो । उहाँले व्यवसाय सञ्चालनका क्रममा कसैको मानव अधिकार उल्लङ्घन नहोस् भन्ने सुनिश्चित गर्नु राज्य र निजी क्षेत्र दुवैको साझा जिम्मेवारी भएको धारणा राख्नुभयो । उपभोक्ताको समान संरक्षण, श्रमिकको सम्मानजनक व्यवहार र परिपूर्ति उपलब्ध गराउने विषय अन्तर्राष्ट्रिय मानव अधिकारको मूल मान्यता अन्तर्गत पर्दछ भन्दै सन् १९४८ को मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रदेखि लिएर आर्थिक सहयोग तथा विकास संगठन , अन्तर्राष्ट्रिय श्रम संगठन , संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् लगायतका निकायहरूले व्यवसाय र मानव अधिकारसम्बन्धी मापदण्डहरू अघि सारेको उल्लेख गर्नुभयो। हाल विश्वका ३५ भन्दा बढी देशहरूले राष्ट्रिय कार्ययोजना लागू गरिसकेको जानकारी दिँदै नेपालमा पनि यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो।

त्यसैगरी कार्यक्रममा इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले व्यवसाय र मानव अधिकारबीचको सम्बन्ध आजको समयमा अत्यन्त संवेदनशील र महत्वपूर्ण विषय बनेको उल्लेख गर्दै व्यवसायलाई केवल नाफामुखी गतिविधिका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो। उहाँले व्यवसाय सञ्चालन गर्दा श्रमिकको अधिकार, उपभोक्ताको सुरक्षा, समान व्यवहार, सुरक्षित कार्य वातावरण तथा सामाजिक न्याय सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो। व्यवसायीहरूले मानव अधिकारमैत्री वातावरण निर्माण गर्न सके मात्रै दिगो र विश्वासिलो व्यवसायिक वातावरण निर्माण हुने उहाँको भनाइ थियो। साथै व्यवसायिक प्रतिष्ठानहरूले राज्यका कानुन, श्रम मापदण्ड र उपभोक्ताको अधिकारलाई सम्मान गर्दै अघि बढ्नु पर्ने बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले आफ्नो डेढ वर्षे कार्यकालमा व्यवसायीहरूको हकहित र मानव अधिकारका विषयमा पहिलोपटक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै इन्सेकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्रहरीद्वारा गैरकानुनी रूपमा छापा मार्ने तथा आफूमाथि कुटपिटसमेत गरिएको गुनासो गर्दै कानुनी प्रक्रिया र मानव अधिकारको सम्मानबिना गरिने कारबाही गलत हुने बताउनुभयो। व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई अपराधिजस्तो व्यवहार गर्नु उचित नभएको उल्लेख गर्दै व्यवसायीलाई पनि सम्मानपूर्वक व्यवहार गरिनुपर्ने उहाँको भनाइ थियो। राज्यका निकायले कानुन कार्यान्वयन गर्ने क्रममा मानव अधिकार र विधिसम्मत प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्नेमा बताउनुभयो ।

उद्योग वाणिज्य संघ जनकपुरधामकी महिला उपाध्यक्ष रिंकु शाहले महिला व्यापारी र पुरुष व्यापारीबीच समान व्यवहार, सम्मान र अवसर सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले महिलाहरू व्यवसाय क्षेत्रमा आउँदा अझै पनि विभेद, असहज व्यवहार र प्रोत्साहनको अभाव झेल्नुपरेको बताउँदै महिलालाई व्यापार तथा उद्यमतर्फ आकर्षित गर्न राज्य, उद्योग वाणिज्य सङ्घ र सामाजिक संस्थाहरूले विशेष पहल गर्नुपर्ने बताउनुभयो। महिला व्यवसायीहरूको हकहित, सुरक्षा र आत्मविश्वास बढाउन नियमित तालिम, सहजीकरण र संरक्षण आवश्यक रहेको उहाँको भनाइ थियो। साथै उहाँले मानव अधिकारकर्मी तथा सम्बन्धित निकायहरूले समय–समयमा बजार अनुगमन गरी व्यवसायिक क्षेत्रमा हुने विभेद तथा अधिकार उल्लङ्घनका विषयमा ध्यान दिन दिनुपर्ने भयो।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतले इन्सेकले व्यवसायसँग मानव अधिकारको विषय जोडेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै यस विषयलाई अझै व्यापक रूपमा उठान गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले व्यवसायीमाथि हुने दमन, हिंसा, धम्की तथा अपहरणजस्ता घटनाहरू पनि मानव अधिकार उल्लङ्घनकै विषय भएकाले आगामी मानव अधिकार वर्ष पुस्तकमा यस्ता घटनाहरू समावेश गर्न आग्रह गर्नुभयो। साना व्यवसायीहरू अझै पनि व्यवस्थापन र पहिचानको अभावमा समस्या भोगिरहेको उल्लेख गर्दै सबै साना व्यापारीका पसलमा अनिवार्य रूपमा पसल नम्बर राख्ने व्यवस्था गर्न उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने धारणा राख्नुभयो। व्यवसायीको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित नभएसम्म स्वस्थ व्यवसायिक वातावरण निर्माण हुन नसक्ने उहाँको भनाइ थियो।

मानव अधिकारकर्मी कमलेश मण्डलले व्यवसायीहरूलाई पनि सम्मानपूर्वक र सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार रहेको बताउनुभयो। उहाँले व्यवसायीहरूलाई केवल कर तिर्ने वा व्यापार गर्ने व्यक्तिका रूपमा मात्रै नहेरी समाजको आर्थिक विकासमा योगदान गर्ने जिम्मेवार पक्षका रूपमा बुझ्न आवश्यक रहेको धारणा राख्नुभयो। व्यवसाय सञ्चालनका क्रममा अनावश्यक प्रशासनिक दबाब, असुरक्षा तथा विभेदपूर्ण व्यवहारले व्यवसाय क्षेत्र कमजोर बन्ने भएकाले राज्यले व्यवसायमैत्री वातावरण निर्माण गर्न विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। साथै उहाँले व्यवसाय र मानव अधिकारलाई एकअर्काको पूरकका रूपमा बुझ्दै सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यस्तै मानव अधिकारकर्मी विनोद महरा ले जनकपुरधामका धेरै व्यवसायीहरू असुरक्षा, अव्यवस्थित बजार र व्यवसायिक वातावरण कमजोर हुँदै गएको कारण स्थान्तरण हुन बाध्य भइरहेको बताउनुभयो।  व्यवसाय टिकाइराख्न गुणस्तरीय सेवा, उपभोक्ताप्रति जिम्मेवारी र व्यवसायिक नैतिकता अत्यन्त आवश्यक रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा जनकपुरधाम उधोग वाणिञ्य संघका पदाधिकारीहरु , ब्यापारिहरु , मानवअधिकारर्मी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 सन्तोष कुमार यादव

अन्य

भिडियो