पाख्रिवास नगरपालिका–७ मुगाका पत्रकार ४७ वर्षीय गोपाल बराइलीलाई इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८३ साउन १ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ४४ वर्षीय पर्शु कार्कीले समाचारको विषयलाई लिएर ०८३ असार ४ गते भौतिक आक्रमणको धम्की दिएपछि पीडित हुनु भएका पत्रकार बराइलीलाई न्यायिक प्रक्रियाका लागि इन्सेकले साउन १ गते आर्थिक सहयोग प्रदान गरेको हो ।
मानव अधिकार रक्षकहरू विभिन्न कारणले जोखिममा रहेको अवस्थामा उनीहरूलाई न्यायिक प्रक्रियामा जानका लागि सहयोग गर्ने उद्देश्यले इन्सेकले स्थापना गरेको मानव अधिकार सहायता कक्षमार्फत पीडित पत्रकार बराइलीलाई ७ हजार ५ सय रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताउनु भयो । उहाँले समाचार लेखेकै कारण मार्ने धम्की र जातीय अपमान खेपेका पत्रकार बराइलीलाई न्यायिक प्रक्रियामा सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको बताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका क्षेत्रीय सदस्य समेत रहेका आरोपित कार्कीले समाचारको विषयलाई लिएर ०८३ असार ४ गते मेसेञ्जरमा जातीय ढङ्गले गालीगलौच गरी परिवारको ख्याल राख्न धम्की दिएको पीडित पत्रकार बराइलीले बताउनु भयो ।
रेडियो धनकुटा एफएमका सञ्चालक तथा स्टेशन मेनेजर बराइलीले आफूलाई आरोपित कार्कीले सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानसिक दबाब दिएको बताउनु भयो ।
समाचारको विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमणको धम्की दिएको घटनाको पत्रकारहरूले विरोध गरेका थिए । नेपाल पत्रकार महासङ्घ, धनकुटा शाखाले असार ५ गते विज्ञप्तिमार्फत घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
राहदानी छपाइ प्रकरणको बारेमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाती तथा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापालाई अख्तियारले छानविन गरेको बारेको समाचार धनकुटा एफएम डटकममा असार ४ गते प्रकाशित भएपछि भौतिक आक्रमणको धम्की आएको पीडित पत्रकारको आरोप छ ।
धम्कीपछि पत्रकार बराइलीले असार ७ गते जिल्ला प्रहरी कार्यालय धनकुटामा आरोपितविरूद्ध उजुरी दिनुभएको थियो । पीडित पत्रकारको उजुरीका आधारमा प्रहरीले आरोपितलाई १० गते गिरफ्तार गरेको थियो । कार्कीलाई असार १५ गते अदालतले ६० हजार रुपियाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला अदालत धनकुटामा मुद्दा चालु रहेको अवस्थामा इन्सेकले आर्थिक सहयोग प्रदान गरेपछि पीडित पत्रकार बराइलीले मानव अधिकार रक्षकका लागि इन्सेकको सहयोग निकै महत्वपूर्ण भएको बताउनु भयो । उहाँले मानव अधिकार रक्षकहरू आपतकालीन अवस्थामा परेको बेला सहयोग गर्ने छुट्टै किसिमको कोष नहुँदाको अवस्थामा इन्सेकले सहयोगले आवाजविहीनहरूको मुद्दालाई अझ प्रभावकारी ढङ्गमा अघि बढाउन प्रेरणा मिलेको बताउनु भयो ।
न्यायिक प्रक्रियाका लागि पीडित पत्रकार बराइलीले ०८३ असार १६ गते इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरमा सहयोगका लागि आग्रह गर्नु भएको थियो ।
मानव अधिकार रक्षक अफ्ठ्यारोमा परेको अवस्थामा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले पीडितलाई बराइलीलाई साउन १ गते इन्सेक धनकुटा प्रतिनिधिमार्फत आर्थिक सहायता उपलब्ध गराएको हो ।
पत्रकार बराइलीलाई इन्सेक प्रतिनिधिसहित नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले नगद हस्तान्तरण गर्नु भएको हो ।
आर्थिक सहयोग हस्तान्तरणका क्रममा पत्रकार महासंघ धनकुटाका संस्थापक संयोजक सञ्जय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका सल्लाहकार रमेशचन्द्र अधिकारी तथा पत्रकार महासंघ धनकुटाका सदस्य सन्तोष सुवेदीको सहभागिता थियो ।