INSEC Online

📅 २०८३ श्रावण १

मानव अधिकारकर्मीद्वारा रोम विधान अनुमोदन गर्न सरकारलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मकवानपुरका मानवअधिकारकर्मी तथा नागरिक समाजसँग आबद्ध विभिन्न संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गरी पक्ष राष्ट्र बनाउन ०८३ साउन ११ गते सरकारसँग माग गरेका छन्।

इन्सेक मकवानपुरकी स्रोत व्यक्ति मन्जिता मैनालीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाइएको हो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा दण्डहीनताको अन्त्य, मानव अधिकारको प्रभावकारी संरक्षण तथा युद्ध अपराध, आमनरसंहार र मानवताविरुद्धका गम्भीर अपराधका पीडितलाई न्याय सुनिश्चित गर्न नेपालले यथाशीघ्र रोम विधान अनुमोदन गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले गम्भीर अन्तर्राष्ट्रिय अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ । साथै, रोम विधान अनुमोदन गर्दा नेपालको स्वतन्त्र न्याय प्रणालीमा हस्तक्षेप नहुने, बरु दण्डहीनताको अन्त्य र न्यायको प्रत्याभूति सुनिश्चित गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । उक्त ज्ञापनपत्रमा २०६३ साल साउन ९ गते पुर्नस्थापित प्रतिनिधिसभाले नेपाल सरकारलाई रोम विधान अनुमोदन गर्न निर्देशनात्मक संकल्प प्रस्ताव पारित गरेको तथा संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका क्रममा पनि नेपाललाई पटक–पटक रोम विधान अनुमोदन गर्न सिफारिस गरिएको स्मरण गराइएको छ ।

मानवअधिकार संरक्षणप्रतिको नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई थप सुदृढ बनाउन सरकारले शीघ्र रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्ष राष्ट्र बन्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । मानव अधिकार रक्षक संजाल, बागमती प्रदेशका सल्लाहकार र सदस्यहरुले ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको छ  । ज्ञापनपत्रमा गैरसरकारी संस्था महासंघ नेपाल, बागमती प्रदेश समितिका अध्यक्ष कमलकुमार विश्वकर्मा, गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, सिविन नेपाल मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवाली, सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलाल, माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवा, दलित महिला संघ मकवानपुरकी कार्यक्रम संयोजक विमला विश्वकर्मा, फ्रेण्ड्स हेटौंडाका कार्यक्रम संयोजक किरण थापा, मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठ, मानव अधिकारका लागि एकल महिला समूह मकवानपुरकी अध्यक्ष शारदा चौलागाईं तथा सिआन पुनःस्थापना केन्द्र मकवानपुरका व्यवस्थापक मनिसमान श्रेष्ठलगायतको हस्ताक्षर रहेको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो