अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजना र बागमती प्रदेश कार्यालयको संयोजनमा ०८२ कात्तिक २२ गते सिन्धुपाल्चोक जिल्लाको मानव अधिकारको अवस्था र इन्सेकको भूमिका बारे नागरिक समाजका प्रतिनिधिहरुसँग चौतारामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
ब्रेड फर द वल्डका कार्यक्रम संयोजक डेर्विन्स्की निकोल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेल, इन्सेक केन्द्रीय कार्यालयका कृष्ण प्रसाद नेपाल र इन्सेक प्रतिनिधि नातिबावु धिताल सहितको टोलीले जिल्लाका नागरिक समाजका प्रतिनिधिहरुसँग मानव अधिकारको विविध विषयमा छलफल गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै ब्रेड फर द वल्डकी कार्यक्रम संयोजक डेर्विन्स्की निकोलले मानव अधिकार उल्लङ्घनका घटनाहरुको न्यूनिकरण तथा रोकथामका लागि इन्सेकको मात्र प्रयासले सम्भव नहुने हुँदा सबै नागरिक समाजका प्रतिनिधिहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
इन्सेकले बिगत ३७ वर्ष अघिदेखि इन्सेकले मानव अधिकारको सवालमा पैरवी गर्दै आएको र यसलाई अझै पनि निरन्तरता दिनुपर्ने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो । सबै क्षेत्रका निकायहरुको सहकार्यबाट मात्र मानव अधिकारको संरक्षणमा बल पुग्ने निर्देशक गौतमले बताउनु भयो ।

इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले छलफल कार्यक्रमको औचित्य प्रकाश पार्दै इन्सेकले हालसम्म गर्दै आएको कामबारे सहभागिहरुलाई जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपाल बार एसोसियसन जिल्ला अध्यक्ष भूपेन्द्र थिङले राजधानीबाट नजिक भएपनि सिन्धुपाल्चोक जिल्ला मानव अधिकारको दृष्टिले जोखिम रहेको बताउनु भयो । मानव अधिकारको दृष्टिले गाँस, बास र कपास पहिलो प्राथमिकता रहेको भएपनि जिल्लाका नागरिकहरुमा अझै पनि यी सवालहरुको समस्या भएको बताउनु भयो । जेन्जीले भदौ २३ र २४ गते शहरमा गरेको जस्तै आन्दोलन अब गाँउ—गाँउमा हुनसक्ने भन्दै सबैपक्ष सचेत रहनुपर्ने अध्यक्ष थिङले बताउनुभयो । जिल्लाको मानवअधिकारको सवालमा नेपाल बारले इन्सेक सँग सधै सहकार्य गर्दै आएको जिल्ला बारका अध्यक्ष थिङले बताउनु भयो ।
सामुदायीक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष जनकराज गिरीले जल, जंगल र जमिन जनताको अधिकार भन्ने अभियानमा इन्सेकसँग सधै सहकार्य भइरहेको बताउदै आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा ०८२ भदौ २३ र २४ गते जेन्जी आन्दोलनमा प्रहरीबाट खोसिएका हतियारबाट गम्भीर असर पुग्ने भएकोले मानव अधिकारकर्मीहरुले अनुगमनमा सक्रियता बढाउनुपर्ने बताउनुभयो ।
शक्ति समुहकी जिल्ला कार्यक्रम संयोजक लक्ष्मी तमाङले इन्सेक अनलाईनको प्रभावकारीताको चर्चा गर्दै, इन्सेक अनलाइनले सूचनाको हकलाई संरक्षण प्रदान गरेको बताउनुभयो । संयोजक तमाङले शक्ति समुह र इन्सेक बीच जिल्लाका हरेक सवालहरुमा सहकार्य हुँदै आएको बताउनुभयो ।
जिवन विरुद्ध दुब्र्यसनी संस्थाकी जिल्ला प्रमुख सुजता कार्कीले एचआइभी संक्रमित व्यक्तिहरुका परिवारमा सम्बन्ध बिच्छेदका घटना धेरै हुने भएको हँुदा इन्सेकले उक्त क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्नुका लागी अनुरोध गर्नुभयो । ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सचिव टिका सुवेदीले न्याय नपाएका नागरिकहरुलाई न्याय दिलाउन इन्सेक सिन्धुपाल्चोकले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भ्रष्टाचार विरुद्धको आन्दोलनमा इन्सेक र नेपाल पत्रकार महासंघको सहकार्य हुन आवश्यक रहको बताउनुभयो ।
सामुदायीक बिकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम संयोजक तथा मानव अधिकार एलाइन्सका केन्द्रिय सचिव मधुसुदन सापकोटाले इन्सेक संगको निरन्तर सहकार्य भइरहेको साथै इन्सेकले मानव अधिकारको अनुगमन, सचेतना र वकालत महत्वपूर्ण काम भएको औल्याउदै मानवअधिकार शिक्षामा पनि इन्सेकले जोड दिनुपर्ने बताउनुभयो ।
महिला मानवअधिकार रक्षक जिल्ला सञ्जालकी सदस्य सुजाता सापकोटाले बिवाहको नाटक गरी महिलाहरुलाई चिनमा लगेर घरेलु कामदारको रुपमा राखेका घटनाहरु उजागर भएको हुँदा यस्ता घटना न्यूनिकरणका लागि पनि इन्सेकले काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष दिपक अर्यालले जिल्लामा बालवालिका र महिला हिंसाका घटनाहरु धेरै हुने गरेको साथै बैदेशिक रोजगारीमा गएका महिलाहरु यौन हिंसा र दुब्र्यवहारमा परेर बच्चा सहित स्वदेश फर्कन बाध्ये भएकाले यसको रोकथामका लागि इन्सेकले जिल्ला स्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री कमलचरण कक्षपतीले जिल्लामा मानवअधिकार वादी संस्था भनेको इन्सेक मात्र भएको र समाजको बुझाइ पनि यस्तै छ । इन्सेक भनेकै मानवअधिकार र मानवअधिकार भनेकै इन्सेक भएकोले नेपाल रेडक्रस सोसाइटीले इन्सेक प्रतिनिधि संग सधै सहकार्य गर्दै आएको बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ जिल्ला शाखा अध्यक्ष भवानी श्रेष्ठले सशस्त्र द्धन्द्धकाल देखि नै सिन्धुपाल्चोक जिल्लामा इन्सेकले मानव अधिकारको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । महिला र वालवालिकाको क्षेत्रमा इन्सेकले जिल्ला तहमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । जेन्जी आन्दोलन पछि बालवालिकामा मनोवैज्ञानिक असर परेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेपाल प्राध्यापक संघका जिल्ला सदस्य हरिगोपाल श्रेष्ठले जिल्लाका सबै सामजिक संघ सस्थाहरुलाई इन्सेकले अगुवाई गर्दै आएको बताउनुभयो । मानवअधिकार हनन्का हरेक घटनाहरुमा इन्सेकले खवरदारी गर्दै आएको छ, । त्यसैले नेपाल प्राध्यापक संघले इन्सेक संग निरन्तर सहकार्य गर्दै आएको बताउनुभयो ।
गतिशिल ग्रामीण उत्थान समुहका कार्यक्रम संयोजक खिलबहादुर श्रेष्ठले— इन्सेको पहिचान नै मानव अधिकार भन्ने आम नागरिकहरुको बुझाइ छ । सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक लगायतका सबै अधिकारहरुको संरक्षणमा इन्सेकको महत्वपूर्ण भूमिका रहेको छ । महिला र बालवालिकाको सवालमा समुदाय स्तरमा इन्सेकले सचेतना कार्यक्रम सञ्चालन गर्न उहाँले माग गर्नुभयो ।
लालुपाते जनसेवा समितिका ससिनाथ आचार्यले बर्तमान अवस्थामा जिल्लाको मानवअधिकार हनन्का घटनाहरुको स्वरुप परिवर्तन भएको छ । बैदेशिक रोगजारीको नाममा महिला बेचविखन भइरहेको अवस्था छ । महिला र बालवालिकामाथी अपराधिक घटनाहरु धेरै हुने गरेको छ । जिल्लामा मानवअधिकारको अनुगमन तथा वकालत गर्ने काम इन्सेकले प्रभावकारी रुपमा गरेको बताउनुभयो ।
छलफल कार्यक्रममा जिल्लाका नागरिक समाजका महत्वपूर्ण १७ जना ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि नातिबावु धितालले गर्नुभएको थियो ।