INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा ०८२ भदौ १४ गते ‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न गरिएको छ ।

इन्सेक कोशी प्रदेश र मानवअधिकारका लागि एक महिला समूहको आयोजनामा बलपूर्वक वेपत्ता पारिएका नागरिकहरूको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा ‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहभागिहरूले सरकारले सेना समायोजनलगायतका शान्तिप्रक्रियाका कामहरू सम्पन्न गरे पनि वेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक नगरेको गुनासो गरे ।
उनीहरूले वेपत्ता व्यक्तिहरूको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे । कार्यक्रममा सहभागी वेपत्ता परिवारका सदस्यहरूले राज्यले लामो समयसम्म पनि वेपत्ताको अवस्था सार्वजनिक नगर्दा पीडितहरू थप पीडित बन्नु परेको गुनासो गरे । वेपत्ता परिवारका सदस्य तुलसा राईले सरकारले लामो समयसम्म वेपत्ताहरूको अवस्था सार्वजनिक नगरेको गुनासो गर्नुभयो । उहाँले वेपत्ताको अवस्था सार्वजनिक नभएका कारण आफूहरूले काजक्रियासमेत गर्न नपाएको बताउनुभयो । आफन्तहरू मरेकी जीवित छन् भन्ने राज्यले जानकारी दिनुपर्ने उहाँको माग छ । कार्यक्रममा शहिद परिवारकी सदस्य मन्जु विश्वासले धेरै वटा आयोग वनेपनि आयोगहरूले काम गर्न नसकेको बताउनुभयो । उहाँले पछिल्लो समय गठन भएको आयोगका विषयमा पनि प्रश्न उठिरहेको धारणा राख्नुभयो । उहाँले नयाँ गठन भएको आयोगमा द्वन्द्व पीडितको प्रतिनिधित्व नभएको गुनासो आइरहेकाले आयोग विरुद्ध नै पीडित पक्षले विद्रोह थालेको बताउनुभयो । उहाँले भन्नुभयो‘सरकारले पछिल्लो पटक गठन गरेको आयोगमा द्वन्द्वपीडितहरूको माग अनुसार प्रतिनिधित्व नभएको आयोग विरुद्ध नै विद्रोह समेत सुरु भएको भन्ने कुरा आइरहेको छ ।’

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतक शोभा पालुंगाले नयाँ आयोग गठन भएपछि संक्रमणकालीन न्याय टुंगोमा पुग्ने र पीडितले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पीडित पक्षको न्यायका लागि आयोगले स्वतन्त्र रुपमा काम गर्न पाउनुपर्ने धारणा राख्नुभयो । पालुङ्गाले भन्नुभयो‘ आयोगलाई निश्पक्ष रुपमा काम गर्न दिए पीडित पक्षले न्याय पाउनेमा आशा गर्न सकिन्छ ।’

कार्यक्रममा मानवअधिकारकर्मी देवी बाँस्कोटाले आयोग बन्नुमात्रै ठूलो कुरा नभई सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले निश्पक्ष रुपमा प्रभावकारी काम गरेको छ की छैन भन्ने महत्वपूर्ण कुरा भएको बताउनुभयो । उहाँले आयोगको कामलाई प्रभावकारी बनाउन खबरदारी आबश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो‘ आयोगकको कामलाई प्रभावकारी बनाउन खवरदारी आबश्यक छ ।’

सिविन नेपाल विराटनगरका प्रमुख एवम् मानव अधिकार सञ्जाल, विराटनगरका अध्यक्ष बासुदेव अधिकारीले द्वन्द्व पीडितहरूका कुरा सुन्दा पहुँचका हिसावले राज्यले राहात, क्षतिपूर्ति दिएको हो की जस्तो पनि देखिएको बताउनुभयो । उहाँले राज्यले वेपत्ताको अवस्था सार्वजनिक गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरका मानवअधिकार अधिकृत यमराज आङ्दाम्वेले आयोगले सिफारिस गरे पनि सरकारले कार्यान्वयन नगरेको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष २०८१/०८२मा कोशी प्रदेश कार्यालयले वेपत्ताको ३२ वटा फाइल हेरेको र १८ वटा घटनाको अनुसन्धान गरेर सरकारलाई सिफारिससमेत गरेको जानकारी दिनुभयो । तर, सरकारले मानवअिधकार कायोगको सिफारिस कार्यान्वयन नगर्दा परेका उजुरीमा अनुसन्धान गर्नकी नगर्ने भन्ने अन्यौल भएको बताउनुभयो । बलपूर्वक वेपत्ता पार्ने काम अन्तराष्ट्रिय अपराध भएको मानव अधिकृत आङ्दाम्वेले बताउनु भयो ।

इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन सबै पक्षको रचनात्मक भूमिका आबश्यक रहेको धारणा राख्नुभयो । उहाँले सेना समायोजन जस्तो जटिक कार्य सम्पन्न भएको, संविधानसभा निर्वाचनबाट संविधान जारी भएर मुलुक संघीय संरचनामा गएकोले समेत राज्यप्रति विश्वास राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्य अधिकारीले कोशी प्रदेशमा शसस्त्र द्वन्द्वमा ७७ जना वेपत्ता भएको इन्सेकको अभिलेखमा रहेको बताउनुभयो । उहाँले देशभर ९ सय ३१ जना वेपत्ता भएको जानकारी दिनुभयो ।
वेपत्ता दिवसमा दीप प्रज्वलन
बलपूर्वक वेपत्ता पारिएका नागरिकहरूको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा विराटनगरको महेन्द्र चोकमा ०८२ भदौ १४ गते दीप प्रज्वलन गरिएको छ ।
इन्सेक, मानवअधिकारका लागि एकल महिला समूहलगायत विभिन्न मानवअधिकारवादी तथा सामाजिक संघ संस्थाहरूले भदौ १४ गते संयुक्त रुपमा महेन्द्र चोकमा दीप प्रज्वलन गरेका हुन् ।
कार्यक्रममा सहभागीहरूले मैनवत्ती बालेर दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा मानवअधिकारवादी संघ संस्थासँगै वेपत्ता परिवार तथा द्वन्द्वपीडित परिवारका सदस्यहरू पनि सहभागी थिए ।

photo 20250830 Morang (1)

photo 20250830 Morang (2)

photo 20250830 Morang (3)

photo 20250830 Morang (4)

photo 20250830 Morang (5)

photo 20250830 Morang (6)

photo 20250830 Morang (7)

photo 20250830 Morang (8)

photo 20250830 Morang (9)

अन्य

भिडियो