INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

इन्सेक, झापाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २१ गते विर्तामोडमा सम्पन्न गरेको छ ।

सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा ६८ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबाट ६९ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ ।

६ महिनाको अवधिमा जिल्लामा राज्य पक्षबाट गोली प्रहार दुई जना, हत्याबाट दुई जना, बलात्कार र बलात्कार प्रयासका ४० ओटा, वहुविवाह २० ओटा मानव वेचविखनका एक ओटा,गर्भपतनको एक ओटा, बाल यौन दुर्व्यवहारका १० ओटा, कुटपिटका एक ओटा, आत्महत्या दुरूत्साहनको एक र घरेलु हिंसाको एक ओटा गरी ६८ ओटा घटनामा ६९ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ ।

समीक्षामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सामाजिक सवाललाई मानव अधिकारसँग जोडेर लैजानुपर्ने बताउनु भयो । उहाँले नगरपालिका वा गाउँपालिकाले मानव अधिकार कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेर लैजानुपर्नेमा जोड दिनु भयो । मानव अधिकार शिक्षालाई प्राथमिकीकरण गर्न सकेको खण्डमा मात्र समाजमा मानव अधिकार बलियो हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी दुर्गाराज रेग्मीले मानव अधिकारको रक्षा गर्ने प्रतिवद्ध रहेको बताउनु भयो । प्रहरी पीडितमैत्री भएर कानुन कार्यान्वयन गर्ने भएकाले मानव अधिकारको अवस्था क्रमश सुधार हुँदै गएको एसपी रेग्मीले बताउनु भयो ।

समीक्षा कार्यक्रममा मानव अधिकार सञ्जाल, झापाका अध्यक्ष डाक्टर रूपक खनालले मानव अधिकार विषय राज्यसँग जोडिएकोले राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भयो ।

आदिवासी जनजाति महासङ्घ, झापाका अध्यक्ष पाण्डवलाल चौधरीले इन्सेकले समीक्षाको माध्यमबाट सीमान्तकृतका मुद्दामा छलफल गर्ने अवसर प्रदान गरेको बताउनु भयो । उहाँले प्रहरीले आन्दोलनमा अनावश्यक बल प्रयोग गरेको आरोप लगाउनु भयो ।

दलित अधिकारकर्मी सूर्यबहादुर विश्वकर्मा विभेद अन्त्य गर्न सामाजिक अन्तरघुलन कार्यक्रम ल्याउन प्रशासन र मानव अधिकारकर्मीलाई आग्रह गर्नु भयो । कार्यक्रममा अधिकारकर्मीहरू कञ्चना ढकाल, विकास कोइराला, रेखा अधिकारीलगायतले जिल्लाको मानव अधिकार अवस्थाको बारेमा चासो राखेका थिए ।

पत्रकार पर्वत पोर्तेलले छुवाछुतको मुद्दा प्रहरीसँग नआउनुका कारण के हो ? भनी प्रश्न गर्नु भयो । जिल्ला प्रहरी कार्यालय दलित सेलले के काम गर्दै भनी जिज्ञासा राख्नु भयो । पत्रकार चीरञ्जीवी घिमिरेले प्रहरीले गिरफ्तारपछि पनि कुटपिट गर्ने गरेको अझै आरोप लाग्ने गरेको बताउनु भयो ।

महिला अधिकारकर्मी सङ्गीता रौनियारले अन्तरजातीय विवाहित जोडीहरूले समाजमा विभेदमा परेको बताउनु भयो । कार्यक्रममा महिला अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Photo 20230707 Jhapa (1)

Photo 20230707 Jhapa (2)

Photo 20230707 Jhapa (3)

Photo 20230707 Jhapa (4)

Photo 20230707 Jhapa (5)

अन्य

भिडियो